|

विराटनगर : कोरोना भाइरसको संक्रमणबाट मोरङमा पछिल्लो १२ घण्टाभित्र थप ५ जनाको मृत्यु भएको छ। दुई अस्पतालमा उपचाररत चार जना र उर्लाबारीमा होम आइसोलेसनमा बसेका संक्रमितको बुधबार रातिदेखि बिहीबार बिहानसम्ममा मृत्यु भएको हो।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ। रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएकोमा स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो।

आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको हो। त्यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८:१० बजेतिर मृत्यु भएको छ। ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो।

उता, मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बुधबार बिहान ७:३० बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा मृत्यु भएको हो। उनमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या थियो।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मृत्यु भएको छ। अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको थियो।

उता, मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। कात्तिक १५ गते कोरोना संक्रमण देखिएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.