३ महिनामा ५ महिलासहित ७ जनाको निर्मम हत्या

|

रौतहट : बुधबार राति फेरि एक युवतीको सुतिरहेको अवस्थामा हत्या भएको छ। 

माधवनारायण नगरपालिका –७ लौकाहाका रामअयोध्या साहकी १७ वर्षीया छोरी अमृता कुमारीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। माइतीघरमा सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आमा सीतादेवी साह राति शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा पसी अमृताको टाउकोमा गोली प्रहार गरेका थिए। गोलीको आवाज सुनेर शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको उनले बताइन्। 

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका रुपेश साहसँग मागी बिहे भएको थियो। तर २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन्। 

गत वैशाख महिनामा उनका श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो। अमृताको प्रेम प्रसंगका कारण हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए। 

यो सहित पछिल्लो ३ महिनामा रौतहटमा ३ जना महिलासहित ५ जनाको हत्या भएको छ। 

काका काकीले गरे भतिजीको हत्या

गत असोज २२ गते रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका महमद धुनियाकी १७ वर्षीया छोरी रोबिना मन्सुरीको हत्या भएको थियो। 
छतौनाका ३३ वर्षीय फुल महम्मद, ४२ वर्षीय लाल महम्द, ५० वर्षीय नसरुद्दिन मन्सुरी र निजकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरीसहित चार जना मिलेर रोबिनाको हत्या गरी छिमेकी जनरल कवाडीको घरमा राखेर फरार भएका थिए।

हत्याको आरोपमा फुल महम्मद र सहनाज मन्सुरीलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिएका छन। पक्राउ परेका उनीहरु मृतक युवतीको काकाकाकी हुन्।

बलात्कारपछि हत्या

यस्तै गत असोज १५ गते गढीमाई नगरपालिका–१ समनपुरका  सीताराम साहको १३÷१४ वर्षकी सन्जा कुमारी साहको बलात्कारपछि हत्या भएको थियो। वृन्दावन नगरपालिका–४ पलटुवाटोल मामाघरमा बसेकी सन्जा कुमारीको शव बलत्कारपछि सोही गाउँका होस नारायण यादवको उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो। हत्या आरोपमा रौतहट प्रहरीले एक जनालाइ मुद्दा दर्ता गरी पुर्पक्षका लागि जेल चलान गरेको छ।

जग्गा लेनदेनको पिषयमा मित्रादेवीको हत्या

यस्तै जमिन लेनदेनको विषयमा विवादका कारण गत भदौ १४ गते रौतहट गढीमाई नगरपालिका–३ गम्हरिया पर्सा मुसरी टोल बस्ने सकल बैठाको श्रीमती मिन्त्रादेवीको हत्या भएको थियो।

प्रहरीले हत्या आरोपमा सोही गाउँका अनवर हुसेनको छोरो जमसैद मियाँ, सफी महम्मद मियाँका छोरा दाउद मियाँ, कैल भन्ने रफिक मियाँका छोरा जहरुदिन मियाँ र सफी महम्मद मियाँका छोरा महम्मद इसराफुल मियाँसहित गरी ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

जग्गा विवादका कारण सोही गाउँका जमसैद आलमले योजना बनाई मित्रा देवीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी श्रेष्ठले जानकारी दिएका छन्। 

खुकुरी प्रहार गरी महिलाको हत्या

यस्तै गत असोज ९ गते देवाही गोनाही नगरपालिका–५ टिकुलियामा ४ जनाको समूहमा आएका हतियारधारीले एक महिलाको हत्या गरे। सोही गाउँका महेश तिवारी दम्पतीमाथि उक्त समूहले खुकुरी र खुडाले आक्रमण गरेका थिए। जहाँ महेशकी पत्नी जगरामी देवीको मृत्यु भएको थियो।

श्रीमान महेशलाई बचाउन खोज्दा श्रीमती जगरामी देवीको मृत्यु भएको थियो। श्रीमान महेशको टाउको र घाँटीमा चोट लागेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका महेशको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार चलिरहेको छ। 

पुजारीको कन्चटमा गोली प्रहार गरी हत्या

त्यसैगरी गत भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसररियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली लागी हत्या गरिएको थियो। 

राति अन्दाजी साढे ९ बजे खाना खाइरहेको समयमा पुजारी साहमाथि एक्कासि गोली प्रहार भएको हो। हतियारधारी समूहले पुजारीलाई गोली हानी फरार भएका थिए। हत्याको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। 

घाटी रेटेर युवकको हत्या

यस्तै गत साउन ३१ गते गरुडा नगरपालिका वाड नंं ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन पासवानको घाँटी रेटेर हत्या भएको थियो। पासवानको शव पोखरीमा फालिएको थियो।

रामको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरेर ल्याएकामध्ये विजय रामको प्रहरी हिरासतमै साउन १० गते ज्यान गएको थियो। निरन्जन पासवानको हत्या आरोपमा प्रहरीले निर्दोषलाई फसाएको र प्रहरीको चरम यातनाका कारण विजय रामको ज्यान गएको भन्दै स्थानी आन्दोलित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.