|

रौतहट : नेपाल सरकारले आउँदो मंसिर ३० गते सम्म सम्पूर्ण सीमा क्षेत्र बन्द गर्ने जनाइरहँदा रौतहटमा भने सीमा क्षेत्र खुलाउनुपर्ने माग राख्दै आन्दोलन भएको छ। गत २०७६ चैत्र ११ गते देखि बन्द रहेको सीमा क्षेत्र खोल्नुपर्ने माग राख्दै रौतहट गौरस्थित मुख्य सीमा क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका हुन्। 

स्थानीयले बिहीबार बिहान गौर, बैरगनिया सीमाको नेपालतिर नाका खोल्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। उल्लेखनीय मात्रामा रहेका स्थानीयले चाडपर्वका समयमा नाका नखोलेको भन्दै विरोध जनाएका हुन्। 

भारतले सीमा खोलेपनि नेपालले नखोलेका कारण ग्रमीण भेगको चोर नाकाबाट भारत आवतजावत गर्दै आएका थिए। तर भारतीय सुरक्षाबल एसएसबीले नेपालीलाई चोरबाटो नभएर मुख्य नाकाबाट आउन भनेको र तिहार र छठको बेलामा पनि मुख्य नाका बन्द भएपछि आफूहरु बाध्य भएर प्रदर्शनमा आएको उनीहरुले बताएका छन्। 

मुख्य नाका बन्द हुँदा स्थानीय जोखिमपूर्ण रुपमा नेपाल भारतमा आवागमन गर्न बाध्य छन। गौर भन्सारको मुख्य नाका बन्द भएपछि अहिले महादेवपट्टि र बेलबिछवाबाट वैकल्पिक बाटोको प्रयोगमा आएको छ।

बन्द रहेको नाका खुलाउन स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले पनि माग गर्दै आएका छन्। सदरमुकामभन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकाको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी र गौर नगरपालिकाको पश्चिममा रहेको महादेवपट्टिबाट मदिरा, रेडिमेड कपडा, खाद्यान्न सामग्री तस्करी भइरहेको छ।

बेलबिछवामा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी भए पनि संगठित तस्करहरुले दैनिक रुपमा अवैध सामग्री भित्राइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.