|

बर्दिया : बर्दियाको मुख्य पर्यटकीय स्थल ठाकुरद्वाराको बानुगाउँमा ट्री हाउस निर्माण गरिएको छ। वन उपभोक्ता समूह र ठाकुरबाबा नगरपालिकाको साझेदारीमा ट्री हाउस निर्माण गरिएको बानुगाउँ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव बासुदेव भट्टराइले जानकारी दिए। 

स्वदेशी तथा विदेशी पर्यटकका लागि रातीको समयमा पनि वन्यजन्तु अवलोकन गर्न सहज होस्‌ भन्ने उद्धेश्यका साथ ट्री हाउस निर्माण गरिएको हो। ठाकुरबाबा नगरपालिकाको करिव पाँच लाख तथा बानुगाउँ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको दुई लाख ७७ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको ट्री हाउसको प्रतिनिधि सभा सदस्य सन्तकुमार थारूले उद्घाटन गरे। 

ट्री हाउसमा बास बस्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि फरक-फरक शुल्कदर तोकिएको छ। स्वदेशी पर्यटकका लागि एक रातको पाँच सय रुपैयाँ र विदेशी पर्यटकका लागि ७ सय रुपैयाँ तोकिएको हो। उक्त ट्री हाउसको सहायताबाट पर्यटकहरूले रातिको समयमा पनि वन्यजन्तु अवलोकन गर्नसक्ने पर्या-पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए।

बर्दिया क्षेत्रको पर्यटन प्रवर्द्धनमा पछिल्लो समय ठाकुरबाबा नगरपालिकाले प्राथमिकता दिँदै आएको छ। कृषि र पर्यटनबाटै बर्दियाको समृद्धि​ हुने भएकाले यसतर्फ विशेष ध्यान दिइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए। 

बर्दिया पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। पाटे बाघ, हात्ती, गैँडा लगायतका वन्यजन्तु अवलोकन र सत्खलुवा बढैया लगायतका तालहरू अवलोकनका लागि पर्यटकहरू बर्दिया आउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.