|

पर्वत : विगत वर्षका तिहारमा साँझ र रातीपख पर्वत सदरमुकाम कुश्मा बजार बेहुलीको भेषमा सजिएजस्तो हुन्थ्यो। हरेक घरका छतदेखि भुइँतलासम्म लहरै झुन्ड्याइएका झिलिमिली बत्तीले शहर रातीमा पनि दिउँसोजस्तै देखिन्थ्यो। डिस्को र डान्स बार जस्तै गरी सडकमा परेका फोकस लाइटले तिहारको रौनकता नै फरक बनाउने गर्दथ्यो।

तर, यसपालिको तिहार विगतमा जस्तो न झिलिमिली बनेको छ, न त मानिसको मनमा नै पर्वको उत्साह भरिएको छ। कोरोना कहरका कारण सुनसान बनेको दशैँजस्तै यसपालिको तिहार पनि सामान्य तरिकाले मनाउने सोच धेरैको बन्यो। यही कारण धेरैलाई यस वर्षको तिहार धुमधामका साथ मनाउन मन लागेको छैन। कोरोना कहरका कारण आर्थिक गतिविधिहरू नै सुनसान बनेका कारण दशैँ र तिहारमा धेरै खर्च गर्न नसकिएको शहरदेखि गाउँका बासिन्दाहरू बताउँछन्।

‘कोरोनाका कारण ठुलो चाड दशैँ नै सुनसान बन्यो, तिहार पनि सुनसान बनेको छ, मनभित्र डर त्रास भएपछि त बाहिरको रमाइलो पनि खोजी नहुँदो रहेछ,’ कुश्मामा व्यवसाय गर्दै आएका टेकनारायण श्रेष्ठले भने, ‘पोहोरको तिहारमा बत्तीले नै घर सजाएको हो, यसपालिको तिहारमा रमाइलो गर्नै मन लागेको छैन, सबै सुनसान छ, कोहीले खान नपाउने अवस्था आएको छ, कसरी रमाउने र खै !’

कुश्माकै कटुवाचौपारीका विष्णु अधिकारीले पनि यस पटकको तिहार अघिल्ला वर्षमा जस्तो रमाइलो र झिलिमिली नभएको बताए। कोरोना सङ्क्रमण जोखिमका कारण गाउँ टोलका मान्छे बाहिर नगएका र बाहिरबाट आउनुपर्नेहरू पनि खासै नआएका कारण तिहार सुनसान बनेको उनको भनाई छ। ‘कोरोना लाग्छ भनेर सबै जना डराएको अवस्था छ, बाहिरका मान्छे गाउँमा आएका छैनन्, गाउँका मान्छे बाहिर गएका छैनन्,’ उनले भने, ‘कोरोनाले चाडबाड नै नआएको जस्तो भयो, सबै सुनसान छ, यो बेलामा त साथीभाइ जम्मा हुने र रमाउने गरिन्थ्यो, अहिले घरमै थुनिनुपरेको छ।’

ग्रामीण क्षेत्रमा रहेका एकादुई घरहरूमा झिलिमिली बत्तीहरू जडान गरिएपनि बजार क्षेत्रमा रहेका सबैजसो घरमा तिहारे बत्तीहरू जोडिएका हुन्थे। कोरानाकै कारण बजार सुनसान बन्दा र व्यापार व्यवसायमा पनि ठुलो नोक्सान बेहोर्नुपर्दा व्यवसायी तथा बजारमा घर भएकाहरू धेरै खर्च गरेर बत्तीको रमाइलो गर्न मन नलागेको बताउँछन्‌।

कुश्मामा विद्युतीय सामग्रीहरूको पसल सञ्चालन गर्दै आएका इलेक्ट्रिसियन पुष्कल आचार्यले अघिल्ला वर्षभन्दा यस वर्ष करिब ५० प्रतिशतले व्यापारमा कमी आएको बताए। गएको वर्ष साढे चार लाख रुपैयाँ मूल्य बराबरका तिहारे बत्तीहरू बिक्री गर्ने गरेपनि यस वर्ष करिब दुई लाख रुपैयाँका बत्ती बेच्न सकेको उनको भनाई छ। गाउँबाट आउनेहरूको सङ्ख्या घट्नुका साथै बजारकै बासिन्दाले पनि कोरोनाले दुःखद बनाएको बेलामा रमझम गरेर चाड मनाउनुको अर्थ नुहुने आचार्य बताउँछन्।

‘तिहारका बेलामा घर घरै पुगेर बत्ती जोड्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले खासै चाप छैन, केहीले मात्र झिलिमिली बत्ती जडान गरेका छन्,’ उनले भने, ‘तिहारे बत्तीको व्यापार अघिल्ला वर्षहरूमा राम्रो हुने गरेको थियो, यो वर्ष खासै व्यापार छैन, कोरोनाले कतिको रोजगारी गुम्यो, बत्ती किन्ने पनि कसरी हो ?’

कुश्माकै अर्का इलेक्ट्रिसियन कमलकान्त चापागाईँले पनि यस पटकको दशैँ र तिहारमा व्यापार निकै घटेको सुनाए। कोरोनाकै कारण यस पटक व्यापार नभएको र बजार पनि झिलिमिली नबनेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.