|
फाइल फोटो

काठमाडौं : मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या प्रतिदिन बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप २ जना संक्रमित सघन उपचार कक्षमा थपिएका छन्। सोमबार सघन कक्षमा ३ सय ५४ जना उपचाररत थिए। ३ सय १० जना आइसियुमा र भेन्टिलेटरमा ४४ जना उपचाररत थिए।

मंगलबार तीन सय ५६ जना संक्रमितलाई सघन कक्षमा राखी उपचार भइरहेको छ। आइसियुमा तीन सय १८ र भेन्टिलेटरमा ३८ जना छन्। अघिल्लो दिनको तुलनामा आइसियुमा ८ जना उपचार गर्न थपिए भने भेन्टिलेटरबाट ६ जना घटेका छन्।

आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास कक्ष अर्थात् भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।  

गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार १ सय ३ जना आइसियुमा, भेन्टिलेटरमा २२ र होम आइसोलेसनमा १८ हजार ७ सय ३५ जना रहेका छन्।

लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा दुई हजार २ सय ३ जना छन्। आइसियुमा ६४ र भेन्टिलेटरमा चार जना छन्। प्रदेश १ को होम आइसोलेसनमा तीन हजार ४०२, आइसियुमा ४३ र भेन्टिलेटरमा ७ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा एक हजार ९६५,आइसियुमा ७८ र भेन्टिलेटरमा २ जना छन्। प्रदेश २ मा १६ संक्रमित आइसियुमा र भेन्टिलेटरमा दुई जना उपचाररत छन्। होम आइसोलेसनमा ६८४ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २१३ पुगेको छ। आइसियुमा ९ जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या एक हजार ५ र आइसियुमा पाँच जना र भेन्टिलेटरमा १ जना संक्रमित उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.