|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले घरमा बसेका संक्रमितलाई गाह्रो भएमा तत्कालै चिकित्सकलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै भनेका छन्–

'भाइ टीकाको राति १० बजे एउटा फोन आयो। उहाँ ४०-४५ वर्षको बिरामी हुनुहुन्थ्यो। कोरोनाको लक्षण छ। अवस्था एकदमै जटिल थियो। एम्बुलेन्स पाइँदैन, बिरामी कसरी ल्याउनु?

मैले पिसिआर गराइसक्नुभयो भनेर सोधेँ, 'उहाँहरूले छैन भन्नुभयो। जुनसुकै सवारी साधन खोजेर तत्काल अस्पताल ल्याउनुस् भनेँ।

मलाई लाग्यो, बिरामी अस्पताल पुग्नु हुनेछ। तर, दुर्भाग्य, डेढ घण्टापछि फोन आयो, बिरामी बित्नुभयो। सायद समयमै अस्पताल आइपुग्नुभएको भए बिरामीलाई बचाउन सकिन्थ्यो कि? अल्पायुमै जीवन गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जलि।

यो घटनाले अहिले होम आइसोलसनमा लापरबाही र कोरोना परीक्षण नगरी दुई-चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने आम मानसिकताको उजागर गर्छ। कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यसले धेरैको ज्यान लिइसक्यो।

बेवास्ता र लापरबाहीले प्राण जोखिममा राख्ने काम कसैले नगरौं। लक्षण देखिएपछि कम्तीमा पिसिआर गराइहालौं। अनि स्वासप्रस्वासमा समस्या आउनासाथ अस्पताल लगिहालौं। गाह्रो पर्नासाथ एम्बुलेन्स वा अन्य सवारी साधनको तत्काल व्यवस्थापन गर्नेतर्फ सतर्क बनौं।

कुन अस्पताल लैजाने भन्नेबारे जानकारी राखेर बसौं। पिसिआर गरे बेकारमा १४-१५ दिन आइसोलेसनमा बस्नुपर्छ भन्ने सोचले धेरैले कोरोना संक्रमणलाई हलुका रूपमा लिएको पाइन्छ। यो गल्ती गर्दै नगरौं। तपाईंको जीवनभन्दा ठूलो १४-१५ दिनको आइसोलेसन होइन।

लक्षण देखिएकालाई सरकारले पिसिआर टेस्ट नि:शुल्क गरिसकेको छ। त्यसैले कोरोना भाइरस संक्रमणको लक्षण देखिए टेस्ट गर्न ढिला नगरौं। कोरोना पोजिटिभ भएकाले कम्तिमा आफूलाई स्वासप्रस्वासमा अफ्ठ्यारो महसुस भए तुरुन्त परिवार-साथीभाई वा चिकित्सकलाई भनीहालौं।

यो जाडोको मौसममा कोरोना भाइरसको फैलावट व्यापक हुन सक्छ। त्यसैले कृपया पटक्कै लापरबाही नगरौं, मास्क लगाऊँ, हात धोऊँ/स्यानिटाइज गरौं र भौतिक दूरी कायम राखौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.