सित्तैमा सिम र रिचार्ज कार्डको व्यवस्था

|

इलाम : प्रदेश न १ सरकार र स्थानीय तहको समन्वयमा ‘हेलो विद्यार्थी कार्यक्रम’ सुरु गरिने भएको छ।

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्ष्य गरी सामाजिक विकास मन्त्रालयले सिकाइलाई निरन्तता दिन यो कार्यक्रम सुरु गर्न लागेको जनाएको छ। 

पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए। पहिलो चरणमा धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका तथा मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए।

मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए। नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिममार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको बताए।

विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने 

सियुजी सिममा १ सय २९ रुपैयाँको रिचार्जबाट १ महिनासम्म प्रयोग गर्न सकिने छ। बुढाथोकीका अनुसार विद्यार्थीका लागि सित्तैमा सिम कार्ड दिइने र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्थासमेत गरिने भएको छ। 

नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्ज व्यवस्था गरिने बताइएको छ। स्थानीय तहका २ सय ५० शिक्षक र ५ सय विद्यार्थीको कोटा निर्धारण गरिएको छ। रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले जानकारी दिए। 

उनका अनुसार विद्यार्थी छनोट गर्दा गरिबभित्रको पनि गरिब छनोटलाई गर्नुपर्ने छ। विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयले विश्वास लिएको छ।

कोरोनाको संक्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठनपाठन कार्य अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाइ सुरु गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

‘हेलो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैयाँ बेहोर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.