बसपार्कमा मात्र सवारीसाधन रोक्न पाइने, पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुल्ने

|

गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकाभित्र संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन गरिने भएको छ।

नगरपालिका भित्रका विद्यालयका १ शिक्षक र ३ जना विद्यार्थीसँगै व्यापारी र बैंकका कर्मचारीमा समेत संक्रमण पुष्टि भएको थियो। मंसिर ५ गतेदेखि १३ गतेसम्म नगरपालिकाभित्र लकडाउन गर्ने निर्णय भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।

नगरपालिकाभित्र अहिले ४१ जना संक्रिय संकमित भएका र विद्यार्थी र शिक्षकको सम्पर्कमा आएकाको स्वाब संकलन गरी परीक्षणका लागि तम्घास प्रयोगशालामा पठाइएको छ।

बसपार्कमा मात्र सवारीसाधन रोक्न पाइने

नगरपालिकाभित्र लकडाउन गर्ने भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन नगरपालिकाभित्रको बसपार्क मात्र रोक्न पाइने भएको छ। नगरपालिकाका अन्य स्थानमा सवारीसाधन रोक्न र यात्रु राख्न र झार्न नपाइने नगरपालिकाले जनाएको छ।

पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुल्ने

नगरपालिकाभित्र खाद्य पसलहरु र तरकारी तथा दूध डेरीहरु बिहान ७ बजेदेखि ९ बजेसम्म २ घण्टा खुल्ने भएका छन्। पसलहरुले भौतिक दूरी कायम राख्दै र स्वास्थ्य मापदण्डलाई पालना गरी  पसलहरु तोकिएको समयमा खुल्न सक्नेछन्।

संघ र प्रदेशका कार्यालय पनि बन्द गर्न प्रशासनलाई अनुरोध 

नगरपालिकाभित्र अर्थात् सदरमुकाम तम्घासमा संघ र प्रदेशमातहत कार्यालय पनि भएकाले ती कार्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ।  

नगरपालिकाले संघ र प्रदेशका कार्यालयमा पनि अत्यावश्यक सेवाबाहेक अन्य सेवा रोक्न प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।

प्रशासनले बोलायो संकट व्यवस्थापन केन्द्रको बैठक

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले   जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बिहीबार दिउँसो बोलाएको जानकारी दिए। सदरमुकाम तम्घासमा संक्रमण फैलिँदै गएकाले बैठकबाटै केही निर्णय हुने उनले बताए।

गुल्मी जिल्लामा हालसम्म ८ सय ९ जना संक्रमितमध्ये ७ सय २१ जना निको भएर घर फर्किएका छन् भने ७८ जनाको होम आइसोलसनमा राखेर उपचार भइरहेको छ। संक्रमणका कारण जिल्लामा १० जनाको ज्यान गइसकेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.