|

काठमाडौं :  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ। विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो।

लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए। ‘यो कति अति सजिलो ढंगले लेखिएको छ। सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ।’

संसारमा नेपालीहरू कहाँकहाँ पुगेका छन्, उनीहरू कुन अवस्थामा कसरी बसेका छन्, त्यो चिज थाहा पाउनमा लामिछानेको ठूलो चाख रहेको संग्रौलाले बताए।

शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेले बताए। यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ। ‘संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो,’ उनले भने।

किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए। ‘विश्व धेरै रङरूपले भरिपूर्ण छ। बहुआयामिक पनि छ,’ उनले भने, ‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ।’ घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनले बताए। आफू जान नपाए पनि विभिन्न ठाउँबारे बुझ्न पनि यसले सघाउने उनको भनाइ छ।

जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए। ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लेखक स्विकार्छन्, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ।’

डायरी लेख्ने बानी अनि केही रहर र केही लहडले जन्मिएको पहिलो पुस्तकबाट पाएको मायाले आफूलाई पुलकित बनाएको र लेखिरहने ऊर्जा थपिएको उनको भनाई छ।  कतै कुनै दृश्यले लोभ्याएर पुगेका बेला र कतै छुट्टी मनाउने उद्देश्यले घुम्न गएका बेला प्रत्येक यात्राका पृथक् भोगाइ, अलग सिकाइलाई आफूले पुस्तकमा समेटेको लामिछानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.