कोरोनाले छेकेन पर्वको राैनकलाई

|

बारा/राैतहट : तराईमा छठ पर्व विधिवत रुपमा सुरु भइसकेको छ। बारामा कोरोना कहरबीच पनि छठ पर्वको उत्साह र उमंगमा कमी देखिँदैन। कात्तिक शुक्ल चौथीका दिन बुधबारदेखि नै छठ पर्व सुरु भएको छ। चार दिनको यो पर्वको छठ शुक्रबार साँझ र शनिबार बिहान सूर्यलाई अघ्र्य दिएपछि सकिन्छ।

सार्वजनिक र निजी जलाशयहरूमा घाट निर्माणको काम धमाधम भइरहेको छ। बाराको दक्षिण सिम्रौनगढदेखि उत्तर निजगढको बकैया खोलासम्म घाट बनाउन सुरु गरिएको छ। 

नदी नभएको ठाउँमा पोखरी–तलाउलाई पनि झकिझकाउ बनाउन कालीगढसँगै स्थानीय जुटिरहेका छन्। ब्रतालुलाई बस्नका लागि पन्डाल बनाउने, घाट सजाउने र ब्रतालुको सहजताका लागि सरसफाइ र बत्तीको व्यवस्था मिलाउन जुटेका हुन्। 

जलाशयलाई सफा गर्ने, सजाउने र छठको गीत–संगीत बजाउने क्रम सुरु भइसकेको छ । ब्रतालुले घरमा छठका लागि किनमेल गर्नेको बजारमा चहलपहल ह्वात्तै बढेको छ।

घरबाट तयारी गरेर नजिकका खोला र पोखरीमा सूर्यलाई अर्घ दिएर मानिने छठका मुख्य विधि घरभित्र गर्न नसकिने भएकाले व्रतालु र तिनका परिवारको घरमै छठ मान्ने तयारी देखिँदैन। 

कोरोना छल्दै छठको तयारी

छठ पर्वको दोस्रो दिन बिहीबार व्रतालुले रोटी खाने विधि ‘खरना’ गरिन्छ। साँझ सक्खरमा पकाएको खीर र रोटी खानका लागि पिठो ल्याएर तयारी गरिएको निजगढ ८ की श्रीपती साहले बताईन्। शुक्रबार दिनभरि उपवास बसी साँझ घर नजिकको घाटमा पुगेर अस्ताउँदो सूर्य चन्द्र दर्शनलाई अर्घ दिन्छन्। शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । पुनः घाटमा पूजाअर्चना गर्नेछन्। 

रोजगारी तथा अन्य प्रयोजनले स्वदेश तथा विदेशमा रहेकाहरू छठ पर्व मान्नका लागि क्रमशः घर फर्किन थालेका छन् । गाउँ फर्किनेले कोरोना संक्रमण बोकेर फर्किने हो भनेर मनमा चिन्ता बोकेर छठ मनाउन लागेका छन्।

घरमै पर्व मनाउन आग्रह 

जिल्ला प्रशासन कार्यालय बाराले आ–आफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेको छ। बाराका प्रजिअ दीपकराज नेपालले सुरक्षा समितिको बैठक बसेर भिडभाड नगरीदिन आग्रह गरिएको बताए। ‘संस्कृति मनाउन हामी रोक्दैनौं,’ प्रजिअ नेपालले भने–‘कोरोना संक्रमणको अवस्थालाई ख्याल गर्नु आग्रह गरिएको छ। जनताले हाम्रो आग्रह मानिदिए धेरै राम्रो हुन्थ्यो।’  

छठ पूजा गर्ने घाटमा सर्वसाधारणको थामिनसक्नु भीड लाग्छ।  छठ घाटमा भने कोरोना संक्रमणबाट जोगिन मास्क र सेनिटाइजरलाई अनिवार्य गरिएको छ। कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कतालाई ध्यान दिन छठ पूजा समितिहरूले सर्वसाधारणलाई आग्रह गरेका छन्। निजगढ छठ पूजा समितिका संयोजक हृदय रौनियारले छठको दिन घाटमा आउन सबैलाई अनिवार्य मास्क लगाउन र सेनिटाइज गर्ने बन्दोबस्त मिलाएको बताए। 

राैतहटमा पनि छठको राैनक बढ्दै हेर्नुहोस् फोटोहरु

बाराबाट महेश्वर अधिकारी र राैतहटबाट रमेश तिमिल्सिनाको रिपोर्टिङ तथा फोटो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.