मेची नदीमा पनि छैन चहलपहल

|

झापा : झापा जिल्लामा पहिलो पटक धार्मिक एवं लोकआस्थाको पर्व छठ पूजा घर–आँगनमा मनाउने तयारीमा व्रतालु परिवारजन जुटेका छन्।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिने क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घर–आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरेका छन्। साथै खोला, ताल पोखरी, नदीमा गई स्नान गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा नदी, खोला, पोखरी तालमा गई पण्डाल बनाई पूजाआजा गर्ने कार्य नगर्न भन्दै प्रशासनले सूचना जारी गरिसकेको छ।

प्रशासनको सोही सूचनाको आधारमा यस वर्ष जिल्लाको मेची, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अदुवा, माई र रतुवा लगायतका नदी तथा खोलाहरू सुनसान देखिएको छ। अघिल्ला वर्षहरू यी नदीमा छठ पूजा आउने १५ दिनअघिदेखि नै धुमधामका साथ तयारी गरिन्थ्यो। तर, यस वर्ष नदी, खोला तथा पोखरीहरूमा कुनै चहलपहल छैन।

नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक तथा परम्परागत चलन छ। सङ्क्रमणका कारण व्रतालु परिवारजनले घर आगनमै खाल्डो तथा कुण्ठ बनाएर छठ पूजा मनाउने तयारीमा जुटेको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले जानकारी दिएका छन्। नेपालमै दोस्रो ठूलो छठ पर्व मनाइने भद्रपुरस्थित मेची नदी पनि यस वर्ष सुनसान देखिएको छ।

मैथिल समाज, युनिक समाज र भद्रपुर नगरपालिकाको व्यवस्थापनले मेची नदीलाई वर्षमा एक पटक नयाँ बेहुली झैँ सिँगारिने गरिन्थ्यो। नेपाल–भारतको सीमा पर्ने मेची नदीमा यसबर्ष त्यस्तो केही रौनक देखिएन। यहाँ दुवै देशका व्रतालु परिवारजन एउटै नदीमा आएर छठ पूजा मनाउने गर्थे। तर, भद्रपुरवासी यसबर्ष घर आगनमै छठ मनाउन लागेको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए।

‘सङ्क्रमणका कारण पहिलो पटक छठ पूजा घर आँगनमा मनाइँदैछ,’ अध्यक्ष झाले भने, ‘अहिलेसम्म यस्तो भएको थिए, मेची नदीको छठमा हजारौँ व्रतालु तथा भक्तजनहरूको सहभागिता हुन्थ्यो, त्यो यस पल्ट देख्न पाइएन, सबै घरमै छठ मनाउने भए।’ मेची नदी भारततर्फ पनि बगेकोले भारतीय नागरिकहरू भने नदीमा आएर छठ मनाउने भएका छन्। सङ्क्रमणले गर्दा व्रतालु परिवारजनहरू आजैदेखि घर आँगनलाई सजाउने तयारीमा जुटेको स्थानीय रोहित यादवले जानकारी दिए।

अघिल्ला वर्षहरूमा नदीलाई सजाइन्थ्यो तर यस वर्ष घर आगनलाई सजाउन लागेको उनले बताए। व्रतालु परिवारजनहरू जेसिभी, कोदालो प्रयोग गरेर खाल्डो खनेर पानी जमाउने र केराको बाटो लगाउने काममा जुटेका छन्। आँगन नभएका परिवारजन घरको छतमा छठ मनाउनेमा तयारीमा रहेका छन्।

नदी तथा खोलाहरूमा सामूहिक रुपमा छठ नमनाउन छठ पूजा समितिका अध्यक्षहरू र पालिकाहरूसँग छलफल गरेर यसबर्ष घरमै छठ मनाउन सबैमा अनुरोध गरिसकेकोले जिल्लाको नदी तथा खोलामा सामूहिक छठ मनाउने व्यवस्थापन कहीँकतै आयोजना नभएको प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। घर-आँगनमै व्रतालु परिवारजनहरू छठ मनाउने तयारी लागि परेको जानकारी आएको एसपी कोइरालाले बताए।

आज छठ पर्वको मुख्‍य दिन

यता, चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज हो। अस्ताउँदो सूर्यलाई अर्घ्य दिई यो दिन तीन पटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ। भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.