मरेका गाई व्यवस्थापन नगरपालिकाले गर्ने

|

बैतडी : पुर्चौंडी नगरपालिका–६ स्थित खानेपानीको मुहानमा ११ ओटा मरेका गाई फेला परेपछि प्रहरीले आज एक जनालाई नियन्त्रणमा लिएको छ। पुर्चौंडी नगरपालिका–५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक चन्द्र गिरीले जानकारी दिए। ‘गाईलाई भीरबाट खसालेर मारेको आशंकामा पार्कीलाई नियन्त्रणमा लिएका हौं’, उनले जानकारी दिए। 

यस्तै सोही कार्यमा सलंग्न रहेको आशंका गरिएका पुर्चौंडी–५ का सुरेश पार्की भनेर फरार रहेका र प्रहरीले खोजी गरिरहेको गिरीले जानकारी दिए। पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान बढाउने प्रहरीले तयारी गरेको छ। 

पाटन नगरपालिकाबाट प्रतिगाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ। नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि दुवै जनालाई प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाई जिम्मा लगाएका थियो।

गाई जिम्मा लिएर लगेका ती दुवैले गाईलाई भीरबाट खसालेपछि गाई पानीको मुहानमा पुगेका थिए। 

पाटन नगरपालिकाले ती गाईको व्यवस्थापन गर्ने भएको छ। आज पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका जनप्रतिनिधिबीच छलफल भएको नगर  उपप्रमुख जानकी ऐर बमले बताइन्।

उनले भनिन्, ‘ भोलिसम्म मरेका गाईलाई खाल्डोमा गाडेर व्यवस्थापन गरिने र पानीको मुहानलाई सफा गरिनेछ।’ पानीको मुहानमा ११ ओटा गाई मृत फेला परेपछि पुर्चौंडी नगरपालिका–६ मुडेलीका ८० घर र एक विद्यालयमा खानेपानी समस्या भएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.