|

सोलुखुम्बु : जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा महिनौंदेखि चिठीपत्र थन्किएको छ। नेपाल वायु सेवा निगमले सोलुखुम्बको फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठीपत्र कार्यालयमै थन्किएको हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख सीता दुवाडीले बताइन्। 

हप्ताको २ दिन आइतबार र मंगलबार काठमाडाैं–फाप्लु उडान भर्दै आएको  निगमले असोज १३ गतेदेखि उडान भर्न नसक्दा समस्या भएको हो। लकडाउनयता एक दिन मात्रै नेपाल वायु सेवा निगमको जहाजले काठमाडाैं–फाप्लु उडान भरेको थियो।

त्यसयता उडान पूर्ण रुपमा बन्द छ। कोरोना भाइरस महामारीका कारण चैत ११ देखि गरिएको  लकडाउन साउनमा खुलेसँगै निगमले असोज १३ गते उडान गरेको थियो। तर त्यसपछि भने पनि उडान रोकिएको छ। तर निजी कम्पनीका विमान भने धमाधम उडिरहेका छन्। उडान सुरु भएदेखि नै फाप्लु–काठमाडाैं यात्रुको चाप पनि उच्च रहेको समिट एयर फाप्लुका इन्चार्ज मिंगार शेर्पाले बताए।

अहिले काठमाडाैं–फाप्लुका लागि तारा एयरले सोमबार र बुधबार अनि समिट एयरले आइतबार र बिहीबार नियमित उडान भरिरहेका छन्। निगमले भने उडान भर्न नसक्नुको कारण कर्मचारी अभाव नै भएको निगमका महाप्रबन्धक प्रकाश पौड्यालले बताए।

कर्मचारी अभावका कारण नेपाल वायुसेवा निगमका २ वटा मात्र जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान गर्न नसकेको निगमले जनाएको छ।

दुवाडीका अनुसार उडान नभएकै कारण भदौ २३ गतेदेखि यताको जिल्लाबाहिर पठाउने सोलुखुम्बु र ओखलढुंगाको मात्रै ४२ किलो चिठीपत्र सल्लेरी हुलाक कार्यालयमा नै थन्किएको छ।

प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ। निश्चित समयमा पुग्नुपर्ने पत्र महिनौंसम्म सम्बन्धित निकायमा नपुग्दा हुलाक कार्यालयको विश्वसनियतामाथि नै प्रश्न उठेको छ।

तर पनि हुलाक विभाग र निगमबीचको सम्झौताले अन्य विमान र सडक मार्ग हुँदै पठाउने बजेट नै नभएको कार्यालयको भनाइ छ। 

कारोना महामारीमा आर्थिक मितव्ययिता अपनाउन निगमले कर्मचारीको करार सम्झौता थप नगरेपछि कर्मचारी अभाव भएको हो। स्थायी कर्मचारी रहेका देशका ६ वटा जिल्लामा मात्रै अहिले उडान भइरहेको बताइन्छ।

समयमै कर्मचारी व्यवस्थापन नगरी विमान सेवा सुरु नगर्ने हो भने यात्रु, सरकारी अड्डालाई मात्र नभई स्वयं निमगलाई समेत आर्थिक हिसाबमा असर पर्ने सरोकारवालाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.