१२ सय हेक्टरमा गरिएको खेती २०० हेक्टरमा सीमित

|

सिर्जना अधिकारी (लमजुङ) : लमजुङमा केही वर्षयता सुन्तला उत्पादन घट्दै गएको छ। जिल्लाका विभिन्न स्थानमा सुन्तला खेती हुने गरेपनि बोटमै विभिन्न रोग लागेका कारण उत्पादन घटेको हो। 

अघिल्ला वर्षहरूमा भन्दा यसवर्ष उत्पादन निकै घटेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। मौसममा अनियमित बदलाव, पुरानो बोट, रोग-कीराको प्रकोप र आवश्यक स्याहार नपुग्दा विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले जानकारी दिए।

सुन्तला खेतीको व्यवसायिक संरक्षण नहुँदा उत्पादन घट्दै गएको रेग्मीको भनाई छ। सुन्तलाको बोटलाई चाहिने आवश्यक मल र गोडमेल नहुँदा उत्पादन नहुने गरेको उनले बताए। जिल्लाका प्राय सुन्तला बगानहरूमा पुराना बोट भएको र बोट अनुसार सुन्तलाको स्याहार नपुगेको कारण उत्पादनमा हस आएको अनुमान गरिएको छ।

केहीवर्ष अघिसम्म सुन्तला उत्पादनबाट मनग्य आम्दानी हुने गरेपनि पछिल्ला वर्षहरूमा उत्पादनमै कमी आएपछि आम्दानीमा पनि असर परेको छ। किसानहरू पनि सुन्तला खेतीतर्फ निरुत्साहित हुँदै गएका छन्‌।

​बढ्दो बसाईंसराईका कारण सुन्तला खेतीको व्यावसायिकता घट्दै गएको कृषि प्राविधिकहरू बताउँछन्। युवाहरू विदेश पलायन र बढ्दो शहरीकरणका कारण विषेश गरी ग्रामिण भेगमा रहेका सुन्तला बगानहरूमा स्याहार नपुगेको पाइएको कृषि प्राविधिकहरूले बताएका छन्। 

जिल्लामा सुन्तला खेतीको सम्भावना भएपनि भूगोल अनुसार खेती गर्न नजान्दापनि ​सुन्तला उत्पादन अपेक्षित हुन नसकेको अनुमान गरिएको छ। विशेषगरी एकहजार मिटरभन्दा माथिल्लो भेगमा हुने सुन्तला खेतीका लागि कम उचाइमा उत्पादन गरिएका बिरुवा लगाउने गरिएकोले अपेक्षित उत्पादन नभएको प्राविधिकहरूको बुझाई छ। 

जिल्लामा व्यवसायिक सुन्तला खेती भएपनि सुन्तला खेतीको नर्सरी भने छैन। छिमेकी जिल्ला गोरखा र तनहुँ लगायत अन्य जिल्लाबाट बिरुवा ल्याउने गरिएको छ।

यसअघि काठमाडौं, पोखरा र चितवनमा बिक्रीका लागि पठाउने गरिएपनि उत्पादन घटेपछि अहिले जिल्लामै अन्यत्रबाट ल्याउन थालिएको छ। पछिल्ला वर्षहरूमा स्याहार नगरी उत्पादन भएका सुन्तलाहरू पहिलाको वर्ष जस्तो स्वादिलो र रसिलो पनि नभएको सरोकारवालाहरू बताउँछन्।

लमजुङमा एकहजार २०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा पछिल्लो वर्षहरूमा करिब दुईसय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.