डीपीआर तयारीसहित जग्गा अधिग्रहणको काम शुरू

|

विराटनगर : विराटनगर विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नका लागि बाटो खुलेको छ।

नेपाल सरकारले विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नका आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको हो।

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थल विस्तारका लागि १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

योसँगै अब विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ हजार मिटरको धावनमार्ग बनाउने योजनाका काम अघि बढाउन बाटो खुलेको नागरिक उड्डयन प्राधिकरणका विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए।

खरेलका अनुसार प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले लागत साझेदारीमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम अगाडि बढाइने छ। गएको असोज १९ गते संघ, प्रदेश र स्थानीय सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

जग्गा अधिग्रहणका लागि आवश्यक खर्च मध्ये प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशतले व्यहोर्ने समझदारी भएको खरेलले जानकारी दिए।

अब विराटनगर विमानस्थललाई काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थलकै स्तरमा पुग्नेगरी क्षमता अभिवृद्धि गरिने छ। सम्झौता अनुसार विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार मिटर पुर्‍याउने तथा अन्य आवश्यक पूर्वाधार बनाएर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ। १५०० मिटर लम्बाइको विमानस्थलको धावनमार्ग विस्तार गरी ३००० मिटर लामो बनाइनेछ।

विमानस्थलको विकास, विस्तार र स्तरोन्नति सम्बन्धी प्राविधिक प्रतिवेदन (गुरुयोजना) तयार गरी सो बमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरण समेतका लागि नेपाल सरकारबाट गर्ने निर्णयको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणले पाएको थियो। डिजाइन, डीपीआरसहितका कार्ययोजना लगायत आवश्यक कामसमेत प्राधिकरणले अघि बढाउने प्रमुख खरेलले जानकारी दिए।

मन्त्रिपरिषदको स्वीकृति पाएसँगै नागरिक उड्डयन प्राधिकरणले डीपीआर निर्माणसहित जग्गा अधिग्रहणको काम अगाडि बढाउने जनाएको छ। विमानस्थल विस्तारका लागि गत वर्ष उत्तर–दक्षिण चौडाइका लागि आवश्यक केही जमिन सरकारले अधिग्रहण गरिसकेको छ। 

विमानस्थल ३ हजार मिटरमा विस्तार भए धावन मार्गको मध्यबिन्दुबाट १७० मिटर उत्तरदक्षिण चौडाइ आवश्यक पर्ने हुँदा थप जमिन अधिग्रहण गर्नुपर्ने अवस्था हुने छ।

विराटनगर विमानस्थल २५ सय मिटरमा विस्तार गर्दा पश्चिम केशलिया नदी पूर्वका जग्गा अधिग्रहण हुनेछ। तर, धावन मार्ग ३ हजार मिटरमा बिस्तार गर्ने तय भएपछि नदीमा पुल हाल्नुपर्ने वा नदीको बहाव परिवर्तन गर्नुपर्ने भएको छ। तर, तत्काललाई जग्गा अधिग्रहणका काम अगाडि बढेपनि विमानस्थल भने २५ सय मिटरमै विस्तार हुने बताइएको छ। 

हाल एक सय १५ बिघा क्षेत्रफल रहेको विमानस्थलको धावनमार्ग एक हजार चार सय मिटरको छ। अहिले ७२ सिट क्षमता भएका पाँचवटा जहाज राख्न मिल्ने वायुयान एप्रोन, धावनमार्ग र एप्रोनलाई जोड्ने दुईवटा ट्याक्सी वे, वायुयान पथ, रात्रि उडान र अवतरणका लागि एयरफिल्ड लाइटिङ सिस्टम, अग्निनिवारण तथा उद्धार सेवा, हवाई इन्धन, हवाई सञ्चार सेवा, हवाई ट्राफिक नियन्त्रक सेवा, मौसमी सेवाजस्ता पूर्वाधारहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.