|

बुन्डेलिगा क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन फरवार्ड एर्लिङ हालान्डले गोल्डेन ब्वाइ अवार्ड जितेका छन्। २१ वर्षमुनिका फुटबलरलाई इटालियन सञ्चारमाध्यम टुट्टोस्पोर्ट्सले प्रदान गर्ने अवार्डका लागि हालान्डले डर्टमुन्डका जेडान सान्चो, रियल मड्रिडका भिनिसियस जुनियर, बार्सिलोनाका अन्शु फाती, म्यानेचेस्टर युनाइटेडका मेसन ग्रिनवुड, म्यानेस्टर सिटीका फेरान टोरेस, बार्यन म्युनिखका अल्फेन्सो डेभिस लगायतलाई पछि पारे।

अष्ट्रियन च्याम्पियन क्लब आरबी साल्जबर्गबाट गत जनवरीमा डर्टमुन्ड आएका २० वर्षीय हालान्डले जारी सिजन ११ खेलमा ११ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगका ३ खेलमा मात्र उनले ४ गोल गरेका छन्। यस्तै नर्वेको राष्ट्रिय टोलीका लागि ७ खेल खेल्दै ६ गोल गरेका छन्। यसअघि मनोनयनमा १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनाबाट ४० जना र २० जनाको सूची सार्वजनिक गरिएको थियो।

युरोपका प्रतिष्ठित सञ्चारमाध्यमका पत्रकारहरुले मतदानका आधारमा तय हुने अवार्ड जित्ने खेलाडीलाई भावी स्टारको रुपमा चित्रित गरिदै आएको छ।  सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपियन क्लबबाट खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिँदै आएको छ। गत वर्ष यो अवार्ड एथ्लेटिको म्याड्रिडका जोआ फेलिक्सले जितेका थिए।

हालसम्म क-कसले पाए गोल्डेन ब्बाई अवार्ड

सन २००३ बाट वितरण सुरु गरिएको अवार्ड पहिलो पटक डच क्लब आयाक्सका मिडफिल्डर राफेल भान डे भार्टले पाएका थिए। २००४ मा म्यानेस्टर युनाइटेडका वायन रुनीले जितेको अवार्ड २००५ मा बार्सिलोनाका लियोनेल मेस्सीले जिते। २००६ मा आर्सनलमा रहँदा मिडफिल्डर सेस फेवेग्रास, २००७ मा एथ्लेटिको म्याड्रिडका फरवार्ड सर्जियो अग्युइरो, २००८ मा म्यानेस्टर युनाइटेडका मिडफिल्डर एन्डरसन र २००९ मा एसी मिलानका फरवार्ड एलेक्जेन्डर पाटोले गोल्डेन ब्बाई अवार्ड पाएका थिए।

२०१० मा इन्टर मिलान र म्यानचेस्टर सिटीमा देखाएको प्रदर्शनका आधारमा मारियो बालाटोली, २०११ मा बोरुसियाका मिडफिल्डर मारियो गोट्जे, २०१२ मा मालागाका मिडफिल्डर इस्को, २०१३ मा युभेन्टसका मिडफिल्डर पाउल पोग्वा, २०१४ मा लिभरपुलका फरवार्ड रहिम स्टर्लिङ र २०१५ मा मोनाको र म्याचेस्टर युनाइटेडमा देखाएको खेलका कारण फरवार्ड एन्थोनी मार्सियलले यो अवार्ड पाएका थिए।

२०१६ मा बेनिफिका र बार्यन म्युनिखमा प्रर्दशनका आधारमा मिडफिल्डर रेनाटो सान्चेज, २०१७ मा मोनाको र पेरिस सेन्ट जर्मेनका फरवार्ड केलियन एम्बाप्पे, २०१८ मा आयाक्सका डिफेन्डर म्याथ्युज डि लिग्ट, २०१९ मा बेनिफिका र एथ्लेटिको मड्रिडमा देखाएको खेलका कारण फरवार्ड जोआ फेलिसक्सले अवार्ड पाएका थिए। १८ औ संस्करणको अवार्ड वितरण भइसक्दा हालसम्म १० जना फरवार्ड, ७ जना मिडफिल्ड र एक जना डिफेन्डरले अवार्ड हात पारेका छन्।

कुन देशका खेलाडी बढी?

हालसम्म सबैभन्दा बढी फ्रान्सका ३ जना खेलाडीले गोल्डेन ब्बाई अवार्ड पाएका छन्। नेदरल्यान्ड, इङल्यान्ड, अर्जेन्टिना, स्पेन, ब्राजिल र पोर्चुगलका २-२ जनाले पाएका छन्। इटाली, जर्मनी र नर्वेका १-१ जना रहेका छन्। १८ संस्करणसम्म आइपुग्दा १८ वटा क्लबका खेलाडीले अवार्ड पाए। ७ संस्करणको अवार्ड खेलाडीले एकै सिजनमा दुई वटा क्लबमा देखाएको प्रदर्शनका आधारमा दिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.