भारतले सीमा नाका खुला गरेसँगै बढ्यो कोरोनाको जोखिम
भारतले सीमा नाका खुला गरेसँगै बढ्यो कोरोनाको जोखिम
विराटनगर : सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ।
नेपाल–भारत सीमा बन्द भए पनि यसको पूर्ण कार्यान्वयनमा चुनौती थपिएको छ। जसका कारण कोरोनाको जोखिम बढने क्रम उस्तै छ। कोरोना संक्रमणको उच्च जोखिम रहदा रहँदा पनि नेपाली उपभोक्ता सीमापार बजार जोगबनी किनमेलमा लागि पुग्ने क्रम रोकिन सकेको छैन।
पूर्वी नेपालको मुख्य नाका विराटनगरको रानीबाट किनमेलका लागि दैनिक सयौं नेपाली उपभोक्ता भारतीय बजार जोगबनी पुग्ने गरेका छन्। प्रहरीले किनमेलका लागि सीमापारको बजार जाने नेपालीलाई रोक्न सकेको छैन।
मुख्यमार्गमा सुरक्षाकर्मी परिचालन गरी विराटनगरको रानी नाका बन्द गरिएको छ। तर चोरबाटो भएर दिनहुँ सयौं नेपाली उपभोक्ता भारतीय बजार जोगबनीदेखि फारबिसगञ्जसम्म किनमेलका लागि पुग्ने गरेका छन्।
कोरोना संक्रमणको दर न्युनीकरणका लागि सरकारले गत चैत ११ देखि भारतीय सीमा बन्द राखेको छ। यद्यपि नेपाली उपभोक्ता सजिलै भारतीय बजार पुगेर फर्किने गरेका छन्।
दशगजा क्षेत्रमा फालिएको फोहोर बालेर धुँवा बनाउने र त्यहीबेला नेपाली उपभोक्ता भारतीय बजार पुग्ने गरेका छन्। खुला सिमानाका कारण विभिन्न कार्य प्रयोजनले सजिलै भारत जाने र सीमावारि तयारी अवस्थामा बसेको सिटी सफारीमा आफ्नो घरसम्म फर्किने क्रम दशैं अगाडिदेखि नै चलिरहेको छ।
स्थानीय मोहम्मद मुख्तार हुसैनले विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र ईस्लामपुरबाट दिनहुँ हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको बताए।
उनले नेपाल भारत सीमा बन्द भएपनि किनमेलका लागि प्रहरीकै सामुन्ने दैनिक सयौं नेपाली उपभोक्ता भारतीय बजार पुग्ने गरेका जानकारी दिए। किनमेलका लागि सिमापार बजार जोगबनी जाने नेपाली उपभोक्तालाई थोरै संख्यामा परिचालित प्रहरीले पनि रोक्न नसकेको मोहम्मद मुख्तार हुसैनले बताए। दशगजा क्षेत्रमा फालिएको फोहोर बालेर धुवाँको आडमा मोरङ र सुनसरीका अधिकांश नेपाली उपभोक्ता बजार पुग्ने गरेको स्थानीयले बताएका छन्।
सरकारले तोकिएको नाकाभन्दा बाहेकबाट आवतजावत बन्द गरे पनि भारत सरकारले भने गत कात्तिक ६ गतेदेखि आफ्ना सम्पूर्ण सीमा नाका खोलिदिएको छ।
भारतीय पक्षबाट कुनै रोकतोक नहुँदा नेपाली उपभोक्तालाई त्यहाँ पुग्न सहज भएको छ।
सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरेर भए पनि आगामी दिनमा सिमापार आवतजावतलाई पूर्ण बन्देज लगाउन थप प्रहरी परिचालन गर्ने तयारी भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।
मोरङ र सुनसरीमा कोरोना संक्रमणको दर अहिले उच्च छ। स्थानीय प्रशासनको फितलो निगरानी र कमजोर कारबाही क्षमताका कारण जोखिम झन बढेको छ। यसरी दैनिक सयौं नागरिक भारत जाने र फर्कने क्रम नरोकिए आगामी दिनमा कोरोना संक्रमण नियन्त्रण थप चुनौतीपूर्ण बन्ने निश्चित छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।