|

भद्रपुर : झापामा दिनहुँ कोरोना भाइरसको सङ्क्रमणबाट कुनै न कुनै व्यक्तिको ज्यान गइरहेको छ। आज आइतबार सङ्क्रमणबाट मेचीनगर नगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिकाका स्थायी कार्यालय सहयोगी कर्मचारी ४७ वर्षीय गणेश खड्का रहेका छन्।

उनको उपचारको क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गए राति मृत्यु भएको हो।  मेचीनगर नगरपालिका ४ बस्ने खड्कालाई मङ्सिर ४ गते संक्रमण पुष्टि भएको थियो।

पारिवारिक स्रोतका अनुसार सुरुमा खागोले टोकेर घाइते भएपछि खड्कालाई उपचारका लागि मनमोहन हस्पिटल बिर्तामोड लगिएको थियो। त्यहाँ रहेकै अवस्थामा उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। मृतकको लास धरानबाट ल्याएर नेपाली सेनाले कनकाईमा दाहसंस्कार गरेका छन्। उनका दुई छोराले दागबत्ती दिएका थिए। खड्काकी पत्नी समेत दाहसंस्कारमा उपस्थित भएकी थिइन्। कर्मचारीको मृत्यु भएपछि नगरपालिका कार्यालय बिदा दिने विषयमा छलफल गरिरहेको नगरपालिकाले जनाएको छ।

यता शनिवार मात्रै जिल्लामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा भद्रपुर र बुद्धशान्तिका एक एक जना छन् भने इलामकी एक वृद्धाको बिएण्डसी हस्पिटल विर्तामोडमा मृत्यु भएको थियो।

भद्रपुर नगरपालिका ४ की ६० वर्षिया प्रभा गुरुङको घरमै मृत्यु भएको हो। उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा शुक्रवार कोरोना पुष्टि भएको थियो। त्यसपछि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटल लैजाँदा हस्पिटलले भर्ना लिन नमानेपछि घर फर्काइएको थियो।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाका एक जना कोरोना सङ्क्रमितको विराट मेडिकल हस्पिटल विराटनगरमा मृत्यु भएको छ। बुद्धशान्ति ३ का ७७ वर्षीय कविराज सुब्बाको शुक्रवार मृत्यु भएको हो। उनलाई करिब दुई साताअघि उपचारका लागि लगिएको थियो। त्यस्तै इलाम माई नगरपालिका ९ बस्ने ७८ वर्षिया जसमाया तामाङको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ। मङ्सिर २ गते संक्रमण पुष्टि भएकी तामाङको मङ्सिर ४ गते बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो। जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.