|

महोत्तरी : महोत्तरीमा संसदीय विकास कोषको रकममा व्यापक रुपमा अनियमितता भएको पाइएको छ।

महोत्तरीको क्षेत्र नं. ३ बाट निर्वाचित समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको संसदीय विकास कोषबाट पोखरी सौन्दर्यीकरणमा नाममा छुट्टयाइएको ५० लाख रुपैयाँ रकममा व्यापक अनियमितता भएको पाइएको हो।

सांसद ठाकुरले  संसदीय विकास कोषबाट ५० लाख रुपैयाँ रकम  महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-५ बेहडा गाउँमा रहेको स्कुलको  जीर्णोद्धार र पोखरीको सौन्दर्यीकरणका लागि छुट्याइएको थियो। 

गत आर्थिक वर्ष २०७६/०७७ मा पोखरी सौन्दर्यीकरण लागि गाउँपालिकाले १० लाख ५० हजार रुपैयाँ खर्चमा डीपीआर तयार गरी थालिएको काम पूरा नहुँदै भुक्तानी दिइएको छ।

पोखरी सौन्दर्यीकरणका लागि एकडारा गाउँपालिकाले गत असारको भारी वर्षातमा राज इन्टरप्राइजेज जलेश्वरलाई २० दिनमा काम सक्नेगरी ठेक्का कबुल गराएको थियो। गाउँपालिकाले मुल्य अभिबृद्धि कर बाहेक ४० लाख ८७ हजार ८ सय ९३ रुपैयाँमा २०७७ असार ८ गते सम्झौता गरेको थियो। सम्झौता भएको २० दिन अर्थात असार २८ गतेभित्र काम गरिसक्नुपर्ने भएपनि हालसम्म ठेकेदारले कामै नगरी ३७ लाख ८ हजार ५ सय ८६ रुपैयाँ भुक्तानी लिइसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

असार मसान्तमा बाढी आएकै बेला गाउँपालिकाले पोखरी सौन्दर्यीकरणका लागि ठेकेदारसँग सम्झौता  गर्नुले उनीहरूको नियतमा प्रश्नचिह्न उठेको निगरानीकर्ता निकायका अधिकारीहरू र स्थानीयले बताएका छन्‌। स्थानीय रामस्नेही मण्डलले भने, ‘४० लाखको काम सकाउन २० दिनको समय दिनु आफैँमा नीतिगत भ्रष्टाचार हो। भौतिक पूर्वाधार निर्माणमा समय लाग्छ भन्ने कुरा एउटा सामान्य मानिसले समेत आंकलन गर्न सक्छन्‌। तर यहाँ अनियमितताकै निम्ति असार मसान्तमा सम्झौता गरेर पूरै रकम भ्रष्टाचार गरिएको छ।’

एकडारा गाउँपालिका-५ का वडा अध्यक्ष शेराजुल अञ्सारीले आफूलाई पोखरी ठेक्का सम्बन्धमा केही जानकारी नरहेको प्रतिक्रिया दिए। गाउँपालिकाका अध्यक्ष रामछबिला साहले संसदीय विकास कोषको रकम माथिबाटै आउने हुनाले आफूहरूलाई केही थाहा नहुने गरेको बताए।

एकडारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद ठाकुरलाई फोन गर्दा उनले जवाफ दिन मानेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.