सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्दै

|

काठमाडौं : झापाको दमकस्थित करिब १० बिघा जग्गा हडपेको अभियोगमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ कमिटी सदस्य रेवतराज पुरी 'गगन' पक्राउ परेका छन्। 

सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले पुरीलाई काठमाडौंबाट हिरासतमा लिएको हो। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने पुरीलाई दमकस्थित जग्गा हडपेको प्रकरणमा बयानका लागि आएका बेला विभागले हिरासतमा लिएको हो। 

हिरासतमा लिइएका पुरीलाई १५ दिनको म्याद लिएर अनुसन्धान गरिने जनाएको छ। यो प्रकरणमा पुरी यसअघि पनि २०७६ चैत ७ गते जिल्ला अदालत झापामा उपस्थित भएका थिए।

त्यसबेला सरकारी छाप दस्तखत कीर्तेमा मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन गरेको पाँच दिनपछि पुरी अदालतमा पुगेका थिए। विभागका अनुसार दमक नगरपालिका-८ स्थित ३० बिघा भन्दा धेरै सरकारी जग्गा कीर्ते गरेर आफ्नो बनाएको आरोप पुरीमाथि छ। उनी त्यसबेला एक लाख ८० हजार धरौटी बुझाएर छुटेका थिए।

यो प्रकरणमा पुरीसहित उनका परिवारका सदस्य र नातेदार, झापास्थित नापी र मालपोत कर्मचारी लगायत २२ जनाविरुद्ध सरकारी छाप दस्तखत कीर्ते अभियोगमा मुद्दा चलाइएको थियो। यो प्रकरण झापाको बालुवाटारका रुपमा चर्चित छ।

पुरीविरुद्ध गत पुसमै पक्राउ पुर्जी जारी भएको थियो। तर उनी पक्राउ पर्न सकेका थिएनन्। पुरीले ३० बिघाभन्दा बढी जग्गा देवकुमार पुरी, मनमाया पुरी, केशावती पुरी, भूमिका कोइराला, रमेश ढकाल र रमेश गिरीको नाममा कायम गरेको भेटिएको थियो।

त्यति धेरै जग्गा पुरीले दुई नम्बर नापी टोली चन्द्रगढी र नापी कार्यालय दमकका कर्मचारीको मिलेमतोमा आफ्नो नाममा लगेका थिए। पुरीसहितविरुद्ध दायर मुद्दामा सरकारी बिगो २ करोड ६९ लाख ५५ हजार ५ सय ८१ रूपैयाँ तोकिएको छ। तर यो बिगो त्यहाँको जग्गाको मूल्यको तुलनामा देखावटी मात्रै हो पुरीले हडपेको जग्गाको मूल्य अहिले प्रतिकठ्ठा तीस लाख भन्दा धेरै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.