|

धनगढी : कैलालीको बुढीतोलास्थित एक होटलबाट युवतीसँग रंगेहात समातिएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी जिल्ला तानिएका छन्।

प्रहरी युनिटलाई कुनै जानकारीबिना सम्पर्कविहीन भएका चौधरीलाई जिल्ला झिकाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले पूर्व-जानकारी नदिएर के कति कारणले सम्पर्कविहीन बनेका हुन् भन्ने विषयमा सोधपुछका लागि जिल्ला बोलाएको बताए। उनले आवश्यक कारबाहीका लागि माथिल्लो निकायलाई सिफारिस बताए।

हिजो राति ९ बजेदेखि सम्पर्कविहीन भएका चौधरीको खोजी गर्दै गर्दा बुधबार बिहान बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका थिए। यस विषयमा प्रहरीले भने खुलाएको छैन।

चौधरीले सूचना संकलनका क्रममा त्यहाँ गए पनि फोनको नेटवर्क नहुँदा सम्पर्क गर्न नसकिएको बताएका छन्।

यसरी भएको थियो खोजी

मंगलबार राति ९ बजेर ५५ मिनेटमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना३ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो।

मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भए।

दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट इलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो। उनी सम्पर्कमा आएनन्। गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन्। इलाका प्रहरी कार्यालयका इञ्चार्ज नै सम्पर्कविहिन भएपछि रातारात कैलाली प्रहरीमा हल्लाखल्ला भयो।

डिएसपीनै सम्पर्कविहिन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली राति नै परिचालन गरियो।

स्रोतका अनुसार डिएसपी चौधरी आज बिहान बुढितोलाको एक होटलमा युवतीसँग रंगेहात फेला परे। उनी मोटरसाइकलमै बुढीतोला गएको खुल्नमा आएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.