|

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलाँसेमा गत मंसिर ५ गते शुक्रबार पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

स्थानीय ६५ वर्षीया ललितकुमारी कार्कीलाई ठक्कर दिएर फरार भएका प्रदेश २–०१–००१ च. ०१८० नं.को गाडी चालक सिराहा गोलबजार बस्ने वर्ष २४ को अर्जुन विकलाई भक्तपुर प्रहरीले सिराहाबाटै पक्राउ गरेको हो।

गाडीको ठक्करबाट घाइते कार्कीको भने उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

ठक्करबाट घाइते कार्कीलाई उपचारका लागि डा. इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाण्डौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रनाउ गिरीले बताए।

घटना विवरणअनुसार गत शुक्रबार बिहानै कार्कीलाई ठक्कर दिएर गाडी फरार भएको थियो। बनेपाबाट काठमाण्डौतर्फ गइरहेको तरकारी ढुवानी गरेको सेतो रङको बोलेरो जस्तो गाडीले ठक्कर दिएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा खटिएको अनुसन्धान टोलीले ठक्कर दिने गाडी प्रदेश २–०१–००१ च. ०१८० नं.को भएको खुल्न आएको प्रनाउ गिरीले बताए।

सोहीअनुसार अनुसन्धान गर्नेक्रममा गाडी चालक वि.क.लाई इलाका प्रहरी कार्यालय गोलबजारसँग समन्वय गरी गोलबजारबाटै सवारीसहित पक्राउ गरिएको हो।विकलाई सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.