|

पर्वत : देशमा कोरोना सङ्क्रमण फैलिरहेको बेला सरकारले भीडभाड नगर्न भनेको छ। धेरै जना जम्मा भएको ठाउँबाट सङ्क्रमण फैलिने दर उच्च हुने भएकोले यतिबेला एकसँग अर्को व्यक्ति तर्केर हिँड्नुपरेको अवस्था छ। 

तर बुधवार पोखरामा देखिएको भिडभाड सहितको नाराबाजीले भने कोरोना सङ्क्रमणलाई गिज्याएको देखियो। पोखरा महानगरपालिका दिनहुँ जसो सयौँको सङ्ख्यामा सङ्क्रमितहरु भेटिरहेको अवस्थामा बुधवार हजारौँ नागरिक सडकमा उत्रिएर राजाको पक्षमा प्रदर्शनसहित नाराबाजी गरेका छन्।

देशको राजनैतिक बेथितिका कारण वाक्क परेका नागरिकहरूबाट देशका विभिन्‍न ठाउँहरूमा राजाले नै देश चलाउनुपर्ने भनी नाराबाजी तथा प्रदर्शनहरू भइरहेको बेलामा गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीको पोखरामा पनि बुधवार राजाबाट नै शासन व्यवस्था चलाइनुपर्ने माग गर्दै प्रदर्शन भएको हो।

राजाका पक्षधरबाट आयोजना गरिएको र्‍यालीसहितको सभामा कास्की जिल्ला सहित छिमेकी जिल्लाहरू तनहुँ, स्याङ्जा, पर्वत लगायतका ठाउँबाट समेत सहभागीहरू पुगेका थिए। सहभागीहरूले ‘राजा ल्याऔँ, देश बचाऔँ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, अखण्ड नेपाल जिन्दाबाद, गणतन्त्र मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए।  र्‍यालीमा सहभागी मोटरसाइकल र कारमा पृथ्वीनारायण शाहदेखि अन्तिम राजा ज्ञानेन्द्र र कोमल शाहको तस्बिर राखिएका थिए।

र्‍यालीपछि भएको कोणसभामा राजाको शासनकालमा बज्ने गरेको तत्कालीन राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली....’ बजाइएको थियो। कोणसभालाई सम्बोधन गर्दै शिव सेनाका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँताएरै छाड्ने बताए। 

आफूहरूको यो अभियानमा देशभरका नागरिकले स्वतस्फूर्त रूपमा साथ दिएकाले राजसंस्था पुनर्बहाली भएरै छाड्ने उनको दाबी छ। १४ वर्षपछि देखिएको जनसहभागिताप्रति खुसी व्यक्त गर्दै उनले जनताले राजतन्त्र चाहेको बताएका छन्। बुधवारको र्‍याली र सभा कुनै दल विशेषमा केन्द्रित नरहेको तर देश बचाउमा भएको बस्नेतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.