निर्वाचनअघि कांग्रेस सरकारमा जाँदैन

|

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादले यतिबेला आन्तरिक राजनीति तरंगित भएको छ। जारी विवादले पार्टीलाई मात्र होइन, प्रमुख प्रतिपक्षी दलहरूलाई समेत लपेटेको छ। पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको भेटले घरेलु राजनीति तरंगित छ।

प्रमुख प्रतिपक्षी दलका सभापति र प्रधानमन्त्री ओलीबीचको भेट, जारी राजनीतिक र स्वास्थ्य संकटका बेला प्रतिपक्षी दलको भूमिका र महामारी नियन्त्रणमा सरकारका कामबारे थाहाकर्मी जगत भण्डारीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलसँग गरेको कुराकानी :

यतिबेला सत्तारुढ नेकपाको विवादको बाछिटा प्रमुख प्रतिपक्षी दलमा पनि परेको छ, जसले कांग्रेस जनादेश विपरित सरकारमा जाने लोभमा फसेको हो कि भन्ने आशंका उब्जिएका छन्, हालै तपाईंंका पार्टी सभापति र प्रधानमन्त्रीबीच गोप्य भेटघाट किन भयो ? 

नेकपा नेपालको सत्तारुढ दल हो। संसदमा उसको अहिले बहुमत छ। त्यसैले त्यो दलमा हुने उथलपुथलको प्रभाव सबैतिर पर्छ। जसले नेपाली कांग्रेस तथा राष्ट्रिय राजनीतिलाई पनि प्रभावित बनाएको छ।

नेपाली कांग्रेसले भन्दै आएको कुरा के हो भने निर्वाचनमार्फत नेकपाले जनमत प्राप्त गरेको छ। उसले नै यो ५ वर्ष सरकार चलाओस्। तर नेकपाले सत्ता सम्हालेको करिब ३ वर्ष पुग्न लाग्दा समेत आन्तरिक विवाद र सत्ता संघर्षका कारण राष्ट्रिय राजनीतिमा कुनै उपलब्धि दिन सकेन। त्यसैले, अहिलेको अवस्थामा नेकपाले देशको नेतृत्व सही ढङ्गले गर्न नसकेको नै हो भन्ने हाम्रो निश्कर्ष हो।

जहाँसम्म सभापतिले भेट्नुभएको भन्ने कुरा तपाईंले सोध्नुभयो, त्यो आधिकारिक कुरा हो जस्तो मलाई लाग्दैन। किनभने त्यसबारे आधिकारिक रूपमा जानकारी गराइएको छैन। त्यो सभापतिजीले केन्द्रीय समितिलाई अथवा पार्टीका नेताहरूलाई जानकारी गराउनुभएको अवस्था पनि छैन। यदी भेट भएकै भएपनि प्रतिपक्षी दलको नेताले प्रधानमन्त्रीलाई भेट्नुलाई अस्वभाविक ढङ्गले बुझ्नुहुँदैन।

कोभिड–१९ को महामारीमा सरकारले प्रभावकारी काम गर्नुपर्ने बेला आन्तरिक द्वन्द्वमा फसेर जनताप्रतिको उत्तरदायित्व निर्वाह नगर्ने स्थितिमा नेकपा पुगेको अवस्था अहिले सतहमै देखिएको छ। अब यसको अघिल्लो निकास के हुन्छ भन्ने चाहिँ नेकपाभित्रै निहित छ। नेकपाको संरचनात्मक संगठनबाट कसरी निर्णय हुन्छ भन्ने नै हो। यो उहाँहरूको विषय हो। नेपाली कांग्रेसको यो विषयमा खासै चासो छैन।

देउवासँग प्रधानमन्त्रीले सत्ता साझेदारीको कुरा गरेको भन्ने कुरा सत्य होइन?

सत्ता साझेदारी गर्ने/नगर्ने भन्ने निर्णय पार्टीले गर्छ। यस विषयमा हामी छलफलमा प्रवेश नै गरेका छैनौं। त्यसैले अहिले कांग्रेसले संस्थागत हिसाबले कुनै यसबारे निर्णय गरेको छैन। बरू, अहिले प्रतिपक्षी भूमिकालाई प्रभावकारी बनाउन कोशिस गरिरहेको अवस्था हो। त्यसैले सत्ता प्राप्तिको लागि हामीले कुनै पहल गरेका छैनौं। 

यसअघि प्रधानमन्त्रीले आफ्ना पार्टीका विपक्षीलाई सन्तुलनमा राख्न देउवासँगको भेटलाई प्रयोग गर्ने गर्नुभएको थियो, तर अहिले उल्टै कांग्रेसले सत्ता साझेदारीको प्रस्ताव आएको हल्ला फैलाएर नेकपा र प्रधानमन्त्रीलाई अप्ठेरोमा पार्ने कोशिस गर्‍यो भनेर नेकपाकै कतिपय नेताहरूले भनिरहेका छन् नि !

करिब दुई तिहाइको समर्थनप्राप्त सरकार छ। जनताले पनि नेकपालाई नै सरकार चलाउने जनादेश दिएका हुन्‌। तर, अहिले प्रधानमन्त्रीकै कारण अस्थिरता आएको छ। को–कोसँग गठजोड गरेर सरकार बनाउने भन्ने अभ्यास गरिरहनुले उहाँहरू नै अस्थिरतातर्फ लागिरहेको प्रष्टै छ नि! त्यसैले यो सबै कुरा गैरजिम्मेवारीपनको पराकाष्ठा हो।

यो प्रवृत्तिले नेपालको नेतृत्व गर्न सक्दैन। केपी ओलीलाई हामीले समर्थन गरेर सत्ता साझेदारी हुन्छ भन्ने मलाई लाग्दैन। किनभने नेपाली कांग्रेसको केन्द्रीय समितिले नै निर्णय गरिसकेको छ कि वर्तमान प्रधानमन्त्रीले पदमा रहिरहने वैधता गुमाइसक्नुभएको छ भनेर। त्यसैले हामीले नै त्यस्तो निर्णय गर्ने, अनि त्यही व्यक्तिको नेतृत्वमा सरकार बनाउनका लागि पार्टीको शक्ति खर्च गर्ने काम हुन्छ जस्तो मलाई लाग्दैन।

बरू, अहिले बल नेकपाकै कोर्टमा छ। उसले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराले मात्र सरकार रहने/नरहने, को–को सँग गठजोड हुने भन्ने थाहा होला। अहिले परिस्थिति त्यहाँसम्म पुगिसकेको म देख्दिनँ।

प्रमुख प्रतिपक्षी दल भएर पनि तपाईंंहरूले मुखमा पानी हालेर बसेको आरोप लागेको छ, बरू नेकपाभित्रकै प्रतिपक्षीका कारण अहिले केपी ओली नेतृत्वको सरकार दबाबमा रहेको देखिन्छ, सरकारप्रति आफ्नो मौनतालाई नेपाली कांग्रेसले कसरी अर्थ्याउने ?

अहिलेको संसदमा नेकपाको बहुमत थियो। यस्तो मौका जुन मिलेको थियो, जुन अवसर थियो। त्यसलाई सदुपयोग गर्ने अवस्थाबाट नेकपाको नेतृत्व अर्थात वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चुक्नुभयो। बहुमत प्राप्त अवस्थामा हुँदासमेत उहाँहरूले कुनै काम गर्नुभएन। बरू, सत्ता साझेदार परिवर्तन गर्न खोजिरहनुभएको देखिन्छ।

निर्वाचनमा गएर होइन, आफूहरूबीच झगडा भएर, शक्तिमा टाँसिरहनुपर्ने लालचाका कारणले उहाँहरूले कुनै पनि दलको बहुमत नभएको अवस्थामा ओलीले देशलाई पुर्‍याउन खोजिरहनुभएको छ। यसले थप अस्थिरता ल्याउँछ र निराशा बढाउँछ। झन् कोभिडको बेलामा जनताप्रतिको दायित्व एकातिर छ, नेकपाको नेतृत्व अर्कैतिर व्यस्त देखिन्छ।

उहाँहरूलाई जनतालाई परेको समस्यामा कुनै मतलब/सरोकार छैन। यसले राजनीतिप्रति वितृष्णा बढाउने अवस्था आयो। यो हामी सबैको लागि चिन्ताको विषय बनेको छ।

प्रतिपक्षी दलले कुनै कुरा उठाएन भन्ने कुरा सत्य होइन, उठाएको कुरालाई परिणाममा लिन नसकेको चाहिँ हो। विशेषगरी सुशासन, भ्रष्टचार लगायतका सवालमा, कोभिडमा सरकारले गरेको काम र देखाएको गैरजिम्मेवारीपनको सवालमा हामीले सशक्त ढङ्गबाट परिणाममुखी हुने गरी विषयहरू उठाउन जरुरी छ। तर त्यसको लागि हामीले आफ्नो कार्यशैली बदल्न पनि जरुरी छ।

तपाईंहरुको पार्टीमा पनि महाधिवेशनको सुनिश्चितता देखिएको छैन, नेतृत्व परिर्वतनको कुनै गुञ्जायस छैन, दर्जन बढी नेताहरूले स्वयम् आफैँलाई सभापतिको उम्मेदवारका रूपमा उभ्याएका छन्‌, प्रतिपक्षी दलभित्र देखिएको यो खाले राजनीतिक अभ्यास चाहिँ प्रेरणादायक हो ? 

नेतृत्व परिर्वतनको कुनै गुञ्जायस छैन भन्ने कुरा गलत हो। यही ढङ्गबाट चलिरहने, तरिका नबदल्ने, प्राथमिकताहरू निर्धारण नगर्ने, नेपाली कांग्रेस सच्चियो भनेर सन्देश दिन नसक्ने हो भने हाम्रो पार्टीमा पनि महाधिवेशन गर्नुको अर्थ छैन। त्यसैले कांग्रेससँग जनताले अहिले जे खोजेको छन्, अथवा कांग्रेसले जनतामाझ जस्तो सन्देश लिएर जान जरुरी छ : त्यसरी नै हामीले महाधिवेशन सम्पन्न गर्नुपर्छ।

निर्वाचन नजिक आउँदैछ, नेकपा फुटेन भने उसको र हाम्रो अन्तर १३–१४ प्रतिशत छ। त्यसैले त्यो प्रतिशतले पनि निर्वाचनमा ठूलो अर्थ राख्छ। त्यसमाथि आम–जनता अहिलेको सत्तारुढ नेकपा नेतृत्वको सरकारको ज्यादतीबाट धेरै नै निराश भएका छन्। यसको पहिलो विकल्प नेपाली कांग्रेस नै हो। त्यसैले कम्युनिष्टहरू बिग्रेर अलोकप्रिय भएर आफ्नो पालो आउँछ भनेर हामीले पर्खेर बस्न मिल्दैन।

आफूभित्र भएका समस्यालाई समाधान गरेर, कमी–कमजोरीहरूलाई हटाएर, नयाँ ढङगबाट प्राथमिकताहरू बदलेर, अहिलेको राष्ट्रिय आवश्यकताको पहिचान गरेर महाधिवेशनमा जान जरुरी छ। अनि ती सबै कुराको निर्धारण महाधिवेशनले गर्छ। महाधिवेशन नहुने त सम्भावना नै हुँदैन। तर लम्ब्याउने प्रयासहरू भइरहेका चाहिँ पक्कै हो।

त्यसो भए महाधिवेशन कहिलेसम्म लम्बिने सम्भावना छ त?

संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभन्दा पछाडि जान त मिल्दै मिल्दैन। त्यसकारण हामीले फागुन ७ मा हुनसक्दैन भने बैशाख वा जेठमा महाधिवेशन सम्पन्न गरौं भनेका हौं। भदौ अन्तिमसम्म लगेर फेरी दुर्घटनामा पुग्ने स्थिति नबनाऔँ भनिरहेका छौं।

तर, बैशाख–जेठ वा भदौ जहिले पनि तोकिनसक्छ। अहिले महाधिवेशनबारे निकै धेरै अन्योलता छ। तर पनि हामीले छिटोभन्दा छिटो मिति तोक्न आवश्यक छ।

तपाईंले नेतृत्व परिर्वतनको कुनै गुञ्जायस छैन भन्ने कुरा गलत हो भन्नुभयो। तर अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने यसअघि नै उम्मेदवार बनेकाहरू नै अहिलेको महाधिवेशनमा पनि नेतृत्व लिन अघि सरेका छन्‌। युवा भनिएका  तपाईंहरू अगाडि आउन सकिरहेको देखिँदैन नि !

होइन, पार्टीको सर्वोच्च पदमा राष्ट्रिय रूपमा पहिचानसमेत नभएको व्यक्ति त आउन सक्दैन। किनभने पार्टीको नेतृत्वमा पुग्ने एउटा प्रकृया छ। त्यसैले प्रतिष्पर्धा अहिले चर्चा भएकै नेताहरूबीच हुने हो।

तर ती नेताहरूले खाली म पुरानो हुँ, म पार्टीको यो तह वा पदसम्म पुगिसकेँ, त्यसकारण म सिनियर भएका कारण सभापति हुन्छु भनेर मिल्दैन। उहाँहरू सभापति हुँदा अहिलेको स्थिति कसरी परिवर्तन हुन्छ? यो यथास्थितिलाई उहाँहरू कसरी बदल्नुहुन्छ? कांग्रेसका समस्याहरूलाई कसरी समाधान गर्नुहुन्छ? कांग्रेसका मुख्य प्राथमिकता के–के हुन्? त्यसलाई उहाँहरूले कसरी निर्धारण गर्नुहुन्छ? कांग्रेस अस्पष्ट रहेका विषय उहाँहरूले कसरी प्रस्ट्याउनुहुन्छ?

यी कुरा स्पष्ट ढङ्गले व्यक्त गर्ने स्थिति बनेमात्र महाधिवेशनमा वैचारिक प्रतिष्पर्धा हुनसक्छ। हामीले वैचारिक पक्षबाट प्रतिष्पर्धा हुने स्थिति निर्माण गर्न खोजिरहेका छौं। बिना दस्तावेज, बिना विचार, कार्यक्रम प्रतिष्पर्धा गर्न सम्भव छैन। त्यसैले हामीले दस्तावेजसहित सबै विषयमा प्रष्ट्याउने गरी नेतृत्वले आफूलाई प्रस्तुत गर्नुपर्छ भनिरहेका छौ। मलाई लाग्छ : आन्तरिक दबाबका कारण यो परिस्थिति निर्माण पक्कै हुन्छ। 

तपाईंको पार्टीमा युवा नेतृत्व आउनुपर्ने बहस लामो समयदेखि चल्दै आएको छ, कहिलेकाँही त उमेरको हदबन्दीको कुरा पनि उठ्ने गरेको छ, आगामी महाधिवेशनमा यो विषयले प्राथमिकता पाउँछ कि पाउँदैन?

उमेर ढल्केपछि सक्रिय राजनीतिबाट बाहिरिने सवालमा हाम्रो पार्टी अरूभन्दा अगाडि नै छ। किनभने सभापति पदमा हाम्रो पार्टीमा तलदेखि माथिसम्म दुई पटकभन्दा बढी लड्न नपाइने व्यवस्था छ। तर यतिले मात्र एक्जिट प्रोसेस पुगेन भन्ने कुराहरू पनि आइरहन्छन्। किनभने सजिलै स्वतःस्फूर्तरुपमा पदबाट बाहिरिने अभ्यास हामीकहाँ भएको पाइँदैन।

जर्बजस्ती कानूनी व्यवस्था गरेर हटाउनुपर्ने वा सजिलै नेतृत्व हस्तान्तरणको वातावरण बनाउन जरुरी छ। कांग्रेसमा मात्र होइन, नेपालकै राजनीतिमा यस्तो प्रवृत्ति देखिन्छ। अब त्यसका लागि एउटा उपाय उमेरहद पनि हुनसक्छ। अथवा एउटा पदमा एउटा व्यक्ति कति पटकसम्म बस्न पाउँछ भन्ने कुराको निर्धारण गर्नुपर्ने जरुरी पनि छ।

त्यसो गर्न सकिएन भने सहज नेतृत्व हस्तान्तरण हुनसक्ने अवस्था रहँदैन। किनभने पदमा बसिरहेको मान्छेसँग स्रोत हुन्छ, सञ्‍जाल हुन्छ, शक्ति र सम्पर्क सबै हुन्छ। अनि पदमा नभएको मानिससँग केही पनि हुँदैन। त्यही कारण पदमा भएको र नभएको मान्छेसँग प्रतिष्पर्धा हुन सक्दैन। त्यसैले हामीले एक्जिट लिने प्रोसेसलाई अझै सहज हुने गरी बाध्यकारी अरू व्यवस्था के गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौं। 

अमेरिकामा हालै करिब ८० वर्षका जो बाइडेन राष्टपति निर्वाचित हुनुभएको छ, तर तपाईंहरू उमेरको हदबन्दी तोक्ने कुरा गर्दैहुनुहुन्छ, युवा नेताहरू नयाँ एजेन्डाका साथ नेतृत्वमा दाबी गर्न नसक्ने, अनि उमेरको कुरा गरेर कसरी पार्टी र देशको रुपान्तरण सम्भव हुन्छ? 

मेरो विचारमा : उमेरको आधारमा नेतृत्व लिन खोज्नु ठीक होइन। दृष्टिकोण, कार्यशैली र विचारको आधारमा नेतृत्व लिने हो। म भन्दा उमेरले कम ३०–३२ वर्षको पनि सभापति हुनसक्छ। त्यसका लागि प्रोसेसमा आएर सहभागीहरूलाई कन्भिन्स गरेर जान सक्नुपर्‍यो।

नेपालमा थुप्रै समस्याहरू छन्। नेपाली कांग्रेसभित्र पनि समस्याहरू छन्। यी समस्याहरूलाई समाधान गर्न सक्ने यथोचित उपायहरू प्रस्तुत गर्न सक्नुपर्‍यो। त्यसो भयो भने धेरै कम उमेरको मानिस पनि सभापतिमा निर्वाचित हुनसक्छ।

मुख्य पदमा जाने आधार उसले प्रस्तुत गर्ने कार्यशैली, विचार र कार्यक्रम हो। त्यसैले अहिले नेपाली कांग्रेसमा यथास्थितिबाट अघि बढ्ने गरी नयाँ नेतृत्व आउने सम्भावना छैन। यसलाई बदल्न सक्ने इच्छा शक्ति भएको, हुटहुटी भएको वा दृढता भएको व्यक्ति प्रतिष्पर्धामा आउनुपर्छ। ​

हामीहरूको पनि केन्द्रीय सदस्य मात्र भएर पार्टीलाई सही ट्रयाकमा लैजान सकिएन भन्ने बुझाई छ। त्यसैले हामी पनि आगामी महाधिवेशनबाट पदाधिकारीको रूपमा प्रतिष्पर्धामा आउँदैछौ। मुल नेतृत्व वा सभापतिकै सन्दर्भमा चाहिँ एक्लै हुने कुरा होइन, आन्तरिक संगठन निर्माण गर्नुपर्छ। त्यसमा तपाईंले भन्नुभएको आशयसँग जोडिनेगरी हाम्रै पुस्ताका सबै युवाहरू बस्ने र छुट्टै सेट निर्माण गरेर जाने स्थिति पनि बन्नसक्छ।  

कांग्रेसमा मात्र होइन, सत्तारुढ नेकपादेखि अरू पार्टीमा पनि करिब यस्तै (सहज नेतृत्व हस्तान्तरण नहुने) प्रवृत्ति देखिएको छ, त्यसैले युवाहरू नेतृत्वमा आएको देख्न चाहनेहरू निराश भइरहेका छन्‌, यसलाई कसरी सम्बोधन गर्न सकिएला ?

नेपालमा पार्टीहरू फरक छन्, तर राजनीति एउटै ढङ्गले चलिरहेको छ। नेतृत्व एकदमै अहङ्कारी भयो। जस्तो कि आफ्नै पार्टीलाई पनि लोकतान्त्रिक ढङ्गले चलाउन सकिरहेको पाइँदैन।

आफ्नै पार्टीलाई लोकतान्त्रिक ढङ्गले चलाउन नसक्नेले देशलाई कसरी लोकतान्त्रिक ढङ्गले चलाउन सक्छ? लोकतन्त्रका मुल्य मान्यताहरू हाम्रो नेतृत्वले स्वीकार्दै स्वीकारेन।

यो गलत कुरा हो र यो सुधार्न जरुरी छ। यस्तो प्रवृत्ति सुधार गर्न सबै पार्टीमा यो विषय बहसमा आएको स्थिति छ। हाम्रो पार्टीभित्र पर्याप्तरूपमा यो विषयहरू उठेको छ।

सरकारकै कुरा गरौं, कोभिड १९ को महामारीलाई नियन्त्रणमा लिन भएका प्रयासलाई तपाईंहरूले कसरी लिरहनुभएको छ?  

नेतृत्व गर्ने सवालमा त यो सरकारभन्दा असफल सरकार यो संसारमै छैन होला। सरकार उपचार, जाँच र राहतजस्ता कुनै पनि काम गर्न सक्दिनँ भन्छ। सरकार छ भनेर मानिदिनुपर्ने, तर जनताले केहि अपेक्षा नै गर्न नमिल्ने? यो अत्यन्तै गैरजिम्मेवार तरिका भयो।

गैरजिम्मेवारीपनका कारणले, सरकारकोे अनुमानका कारणले, योजना र कार्यक्रमहरू बनाउन नसकेका कारणले, यस्तो भयावहको स्थिति आयो। यो अरूको कारणले होइन : विशेष गरी प्रधानमन्त्रीका कारणले भएको हो।

स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामा प्रधानमन्त्री छानबिन गर्न तयार हुनुपर्नेमा झन् ढाकछोप गर्न लागिपर्नुभयो। योभन्दा गैरजिम्मेवारीपन र नालायकीपन अरू के हुनसक्छ? यो भन्दा असक्षमता अरू के हुनसक्छ? 

यति भइरहँदा सरकारलाई झक्झकाउनका लागि संसद अधिवेशन बोलाउनेबारे कांग्रेसभित्र छलफल भएका छन्‌? कि महाधिवेशनबाट कसरी नेतृत्व हत्याउने भन्नेमा मात्रै तपाईंहरू लुछाचुँडी गर्दै हुनुहुन्छ?

पार्टीको महाधिवेशन हाम्रो आन्तरिक काम हो। त्यसैले प्रतिपक्षी दलको भूमिका प्रभावकारी बनाउनका लागि महाधिवेशन नगरौं भन्न सकिन्न।

तर महाधिवेशनको तयारीसँगै सरकारको आलोचना र विरोध पनि गर्न सकिन्छ। जस्तो हाम्रो सभापतिजीले प्रधानमन्त्रीजीलाई भेट्दा कोभिड–१९का विषयमा, सरकारले गरेका काम कारबाहीका बारेमा 'मैले प्रधानमन्त्रीजीलाई यस्तो सुझाव दिएँ, यी विषयमा कुरा गरेँ' भनेर सार्वजनिक रूपमा भन्नुपर्छ।

​त्यसैगरी संसदका विभिन्‍न समितिहरूमा हाम्रा साथीहरू हुनुहुन्छ। ती समितिका बैठक बोलाउने र अहिलेका हरेक विषयमा छलफल गर्नका लागि सक्रिय हुनुपर्दछ।

हुन त कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थियो। त्यसमा छलफल नै गर्न नदिएर प्रधानमन्त्रीले संसद बन्द गरिदिनुभयो। त्यसैले त्यो संसद तत्काल खोल्नुपर्छ भनेर पहल गर्नुपर्ने थियो। त्यसमा पनि हाम्रो त्रुटी भयो।

त्यसैगरी नेपाली कांग्रेसकै नेतृत्वमा लेखा समिति छ, यी मुद्दाहरूका विषयमा छानबिन गर्ने र आफ्नो तर्फबाट अवधारणा सार्वजनिक गर्नुपर्ने थियो। त्यसैगरी छायाँ सरकारका रूपमा विभिन्‍न विभाग हेरिरहेका साथीहरूले पनि सरकारले के गरिरहेको छ भनेर अलि इफेक्टिक हिसाबले खबरदारी गर्न जरुरी छ। यी कुराहरूमा नै पनि खबरदारी गर्न सकियो भने हाम्रो भूमिका प्रभावकारी हुनसक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.