|

काठमाडौं : सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ।

आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो। विभागीय मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृती दिन मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गरेकी थिइन्‌।

सगरमाथाको उचाई मापन कार्य हाल सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन्‌। उनले भनिन्‌, ‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ, काम सकिइसकेको छ, अब हामी आफैँले नापेको सगरमाथाको उचाई औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ।’

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो।

सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो।​मन्त्रिपरिषद्‌ले स्वीकृती दिएपछि अब केही दिनमै कार्यक्रम आयोजना गरी मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ। 

सन् २०१९ मा चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्त रूपमा घोषणा गर्ने सहमती भएको थियो। सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले काम थालेका थिए। 

यसअघि विभिन्न देशहरूले सगरमाथाको उचाई मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहि आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.