|

भद्रपुर : भारतसँग जोडिएको सीमा खुलाउन माग गर्दै व्यवसायीहरूले झापाको पूर्वी नाका काँकडभिट्टामा बुधबार प्रदर्शन गरेका छन्। होटेल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल्स सङ्घ झापाले मौन जुलुस प्रदर्शन गर्दै बन्द रहेको सीमा खुलाउन सरकारसमक्ष माग गरेका हुन्।

कोरोना भाइरसको महामारीको प्रभाव देखाउँदै लामो समयदेखि सरकारले गरेको सीमा बन्द गरेका कारण बाह्य तथा आन्तरिक पर्यटकको आवागमन ठप्प भएकोले व्यवसाय पलायन हुने अवस्था आइसकेको उनीहरू बताउँछन्।

नाकामा रहेका पर्यटन व्यवसाय, होटेल व्यवसाय तथा यातायात व्यवसाय धराशायी बनेकाले तत्काल नाका सुचारुसँगै आवागमन सहज बनाउन दबाब सृजनाका लागि व्यवसायीहरूले प्रदर्शन गरेका थिए।

एसियन हाइवे काँकडभिट्टा बिन्दुबाट सुरु गरिएको र्‍याली बजार परिक्रममा गरी पूर्वी सिमानाका हुँदै बसपार्कमा आएर समापन गरिएको थियो। सरकारले आफ्नो आवाज नसुनेमा र समस्याको सम्बोधन नगरेमा अनशन, धर्ना लगायतका विरोधका कार्यक्रमहरू सार्वजनिक गर्न आफूहरू बाध्य हुने व्यवसायीहरूले चेतावनीसमेत दिएका छन्।

नाकामा आवतजावत बन्दीका कारण अरू सबै क्षेत्र यथास्थितिमा सञ्चालनमा आए पनि होटेल व्यवसाय अझै सञ्चालन हुन नसकेको बताउँदै होटेल खोल्न मात्र नभई अब पर्यटकहरू आउने वातावरणको सृजना गर्न माग गर्दै प्रदर्शन गर्न आफूहरू बाध्य भएको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले बताए।

‘अन्य नाकाबाट आवागमन सहज भएको सुन्नमा आएकोले यस नाकालाई पनि खुलाइन पर्यटन प्रवर्द्धनलाई सहज बनाउन सरकार लाग्नु पर्छ,’ अध्यक्ष कार्कीले भने, ‘स्वास्थ्य मापदण्डको सहजकता अपनाउन व्यवसायी तयार छ, नाका नै बन्द गरेर व्यवसायीलाई उठिबास हुने वातावरणमा सरकारले लाग्नु हुँदैन।’

सयौँको सङ्ख्यामा रहेका व्यवसायीहरूले जुलुसमा ‘उपेक्षित नाकाबन्दी चाहिँदैन, बन्द नाका खुला गर, व्यवसायी बन्दीमा जनता मरे आर्थिक मन्दिमा,’ लगायतका नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए। होटेल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले भने, ‘हामी व्यवसायी कोरोनासँगै भोकले मर्ने स्थिति आइसकेको छ, राज्यले व्यवसायका लागि केही नसोचिँदा हामी प्रदर्शनमा उत्रिन बाध्य भएका छौँ।’

नाका ठप्प हुँदा आठ महिनादेखि व्यवसायीहरूले घर भाडा लगायतको बैङ्कको ऋण तिर्न नसकेको उनले गुनासो समेत पोखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.