|

निकै संघर्ष र दौडधूप किन गर्नुपर्छ मानिसलाई? किनकी सुखपूर्वक र सम्पन्नतासाथ बाँच्न आफूलाई धेरै कुरा चाहिने ठान्छ मानिस। आधारभूत आवश्यकता पूरा गर्न यो पुरुषार्थ जरूरी पनि छ।

तर, बेलामौकामा एउटा सोच आउँछ : किन यति धेरै संघर्ष गरेको? एउटा मात्र कारण छ-आफूलाई के र कति चाहिन्छ भन्ने मानिसले नबुझ्नु। आवश्यकता पूरा गर्न निश्चित वस्तु-सेवा इत्यादि चाहिने कुरामा शंका, तर्क र प्रश्न गर्नु हुँदैन। तर कति र किन? कतै यो कुरा बिर्सिएकाले जीवन यति धेरै संघर्षमय र व्यस्त भएको त छैन?

अरूको चस्मा, आफ्नो जीवन

आफ्नो जीवन जिउने शैली, आफ्ना व्यावहारिक पक्ष, आफ्ना कर्म, सम्बन्ध, अनुशासन, इमानदारिता र सहज तरिकाले बाँच्ने कला जान्नु महत्त्वपूर्ण सिकाई र उपलब्धि हो। जीवनमा हामी के चाहन्छौँ? आफ्नो मान्छे, जाउलो खान पुग्ने धन, आफ्नो परिवार, सत्सङ्ग संगत, मित्र र स्वयम् आफैंमा आफू हुनुको बोध : यति नै हो सायद! यिनीहरू बीच सन्तुलन र सन्तुलित सम्बन्ध अवश्य चाहन्छौँ। तर यति कुरा पाउन हामी निकै सङ्घर्षशील बनेका हुन्छौँ। 

बुद्ध भन्नुहुन्छ, ‘तिम्रो भित्र नियाल, आफूलाई हेर, जान, बुझ, किनकि आफूलाई नबुझी अरूलाई केही शिक्षा दिन सक्दैनौ तिमी।’ अर्को अर्थमा आत्मज्ञान (सेल्फ रियलाइजेसन) अर्थात् आफैंलाई जान्नुजत्तिको ठूलो ज्ञान अरू छैन।’

हाँस्दै, खुसी हुँदै, आनन्द मग्न हुँदै र सचेत भएर यी कुरा प्राप्त गर्न सकिन्न? हामीमध्ये धेरै अरूसँगको प्रतिष्पर्धामा, अरूको नजरमा म कस्तो देखिने भन्‍ने मापनको आधारमा जीवनको संघर्ष चलाउँछौं। जीवनको उत्तरार्द्धमा प्राय: मानिस यिनै कुराले पश्चातापमा परेको हुन्छ। पश्चाताप गर्न जीवनको अन्तिम समय कुर्नुभन्दा अहिले नै आफैंलाई सोधौँ, आफूभित्र नियालौँ र आफैंलाई पढ्न शुरू गरौँ।  

अरूका आँखाले, अरूका चस्माले हेर्नु र अरूका विचारबाट प्रभावित हुनु त विभिन्न रङ्गका चस्मा लगाएर दृश्य देख्नुजस्तै हो। कालो चस्मा लगाउँदा वस्तु कालो देखिन्छ भने हरियो चस्मा लगाउँदा हरियो नै! आफ्नै नाङ्गो आँखाले हेर्दा जुन रङ्ग देखिन्छ, त्यही वास्तविकता हो।

आफैंलाई किन्नु-आफैंलाई चिन्नु

आफ्नो कुरा अर्थात मौलिकता थाहा पाउने कला भनेकै 'बिना चस्मा बिना कथा-व्यथा' आफ्नै वास्तविकतालाई आफैंले बुझ्नसक्नु हो। त्यस आफैंले आफ्नै जीवनशैली नजानी सुखै छैन। स्वाअध्ययन अर्थात् आफैंलाई जान्नु र बुझ्नुजस्तो उत्तम ज्ञान अरू केही हुनै सक्दैन।

हरेक व्यक्तिमा संवेदना हुन्छ। मानिसले आफूभित्रको संवेदनालाई शब्द, संगीत, भाव र व्यवहारका माध्यमबाट व्यक्त गर्छ र जीवनी तयार हुन्छ। आफ्ना जीवन कथा आफैंले पढ्ने, बोध गर्ने र जब बेलामौकामा जीवनका पाना पल्टिन्छन् : तब धेरै सिकाई आफ्नै व्यवहार र जीवनशैलीले दिएको हुन्छ। अनुभव लिन केही किन्नु पर्दैन, आफैंलाई चिने पुग्छ।

पढिसकेका पानाबाट सिकाई मिल्छ भने पढ्न बाँकी पानाले जागृत बनाउन मद्दत गर्दछन्, विगतका गल्ती अब नदोहोरिऊन् भन्ने सही चेतना जाग्न थाल्छ।

ओशो सम्झाउनु हुन्छ, ‘अरूलाई पढ्ने, अरूलाई बुझ्ने र अरूका कुरा सुनेर आफ्नो स्वभाव परिवर्तन गर्ने या आफ्ना तर्कले अरूलाई बदल्ने चेष्टामा आफ्नो ऊर्जा खर्च नगर। त्यसो गर्नुभन्दा त बरु आफैंभित्र नियाल्ने, आफ्नो स्वभावबारे जान्ने र आफूले आफैंलाई बुझ्ने प्रयास गर। तिमी रूपान्तरण हुनासाथ, तिमी जागृत हुनासाथ सबैलाई मद्दत पुग्न सक्छ, तर तिम्रो तर्कले कसैलाई मद्दत मिल्नेछैन। सर्वोत्तम उपाय त मौन बस र आफ्नो भित्रको सुन। यसले तिमीलाई रूपान्तरण गर्नेछ। मौनमा तिमी मस्त अनि स्वस्थ अनुभूति गर्नेछौ।’

बुद्ध भन्नुहुन्छ, ‘तिम्रो भित्र नियाल, आफूलाई हेर, जान, बुझ किनकि आफूलाई नबुझी अरूलाई केही शिक्षा दिन सक्दैनौ तिमी। अर्को अर्थमा आत्मज्ञान सेल्फ रियलाइजेसन अर्थात् आफैंलाई जान्नुजत्तिको ठूलो ज्ञान अरू छैन।’

ओशो सिद्धार्थ भन्नुहुन्छ, ‘धर्मग्रन्थ अथवा पुस्तक पढ्नुको अलावा आफ्नो जीवनशैलीलाई पढ्न सक्यो भने त्यो नै स्वाध्याय बन्छ। आफ्नो आत्माप्रति जागरण हुनु, आफूभित्र रहेको गोविन्दप्रति जाग्नु स्वाध्याय हो।’ के यो कुरा उमेर पुगेपछि मात्र थाहा पाउनुपर्ने हो र? अवश्य पनि होइन।

ज्ञान होइन, अति ज्ञानको परिणाम

जीवनका चिन्ता, निराशा, भय, अपुर्णता सबै अति ज्ञानका परिणाम हुन्। कहिले परिवार त कहिले सम्बन्धले दिक्दारी ल्याउँछ। कहिले धन त कहिले सम्मानले र अपुर्णताले जीवनलाई दु:खको संज्ञा दिने अवस्थामा पुगेको हुन्छ मानिस।

कहिले महामारी त कहिले कुनै बहाना बनाएर आफूलाई दिग्दारीमै बाँच्न बाध्य पारिरहेको हुन्छ। अस्तित्व र प्रकृतिको आयोजन के छ, उसले जान्न र बुझ्न आवश्यक ठान्दैन।

मानिसले विज्ञान जानेको छ, चन्द्रमामा पाइला टेकिसकेको छ। प्रकृतिले दिएको विना मूल्यको अक्सिजनको महत्त्व उसले किन बुझ्नु जरूरी भयो? मुटुले एक सेकेन्ड नरोकिई रगत पम्प गरिरहेको छ र हामी जीवन्त छौँ, यो काम आफैं गर्नुपरेको भए? शरीरले आफैं हामीले खाएको खाना, हामीले जे खाए पनि, जुन देशको खाए पनि रगत, ग्लुकोज, हड्डी, मासुमा परिणत गरी शक्ति प्रदान गरेको हुन्छ। यो क्रिया हामी आफैंले गर्नुपरेको भए?

हामी बाहिर आर्जित भौतिक सम्पदा र पैसाले शक्तिशाली छौँ भन्ठान्छौँ। जीवनको मूल्य र अस्तित्वको कृपाप्रति हामी अहोभावले भरिएका छौँ कि छैनौँ? जीवन त एउटा पाठशाला हो। जीवनका हरेक घटना र सिकाइबाटै संसारकै विश्वविद्यालयसम्म पुग्नुछ।

आफैंले उब्जाउने गरेको संसाररूपी दुःख, कथा, व्यथा, शत्रु, मित्र आफ्नै मनबाट सृजित हुने गर्छन् भन्ने बुझ्न कहिलेसम्म पर्खिने? परिस्थितिले भन्दा बढी दुःख मनस्थितिले दिने गरेको हुन्छ। हाम्रो मन एउटा प्रोजेक्टरजस्तो छ।

आँखा अगाडि काँचको पर्दामा देखेका दृश्यले हामीलाई प्रभाव पार्छ। त्यो पात्र आफैंजस्तो, त्यो घटना आफ्नैजस्तो ठान्छौँ अनि वकालत गर्न थाल्छौँ। यो हुनुपर्ने, त्यो नहुनु पर्ने, ऊ त्यस्तो हुनुपर्ने आदि आदि यो सब अति ज्ञानको परिणाम होइन र?

न जीवन स्थायी, न संघर्ष स्थायी

बिहानदेखि साँझसम्म सुनेर, देखेर र पढेर अरूका कुरा, समाचार, राम्रा–नराम्रा घटनाले हाम्रो मनस्थिति, स्मृति र भावनामा असर पुर्याउँछ भने जीवनभर अरूका कुरा र घटनाले आफ्नो जीवनमा कति असर गरिरहेको होला?

मानिसलाई न अरूका योजना, कल्पना, अनुभव र सपनाले आफ्नो योजनालाई सघाउँछ न त अरूका कमजोरीले निडर हुने साहस दिन्छ। उल्टो, बरु कमजोर मार्गतिर डोहोर्‍याउन सक्छ। त्यसैले जस्तो परिस्थितिलाई पनि आफ्नै मनस्थिति अनुकूल बनाएर र आफ्नै घटनाबाट पाठ सिकेर जीवनमा मार्ग प्रशस्त गर्न सके आत्मिक ऊर्जा मिल्छ।

जीवन नै स्थायी छैन त किन त्यो बिर्सेर संघर्ष र आपाधापी स्थाई बनाइरहेका हुन्छन् मानिस? जीवन कुनै तर्क होइन, न त कुनै गणित नै। जीवन कुनै असफलता र कुनै सफलता मात्र पनि होइन। यी सब जीवनयात्राका एक पक्ष हुन्। सबैभन्दा परको उत्सवपूर्ण अनुभव नै जीवन हो। जीवनका प्रत्येक घटनालाई अवसरको रूपमा लिनसके जीवनप्रति गुनासो नै रहँदैन।

जीवन नै स्थायी छैन भने हाम्रा कल्पना, हाम्रा सपना, हाम्रा कथा–व्यथा, सुख–दुःख कसरी स्थायी हुन सक्छन्? त्यसैले जीवनलाई उत्सवपूर्ण रूपमा लिने कोसिस गर्नुपर्छ, जीवन र घटनाप्रति त्यति धेरै गम्भीर हुनु पनि पर्दैन। जीवनलाई सङ्गीत, कविताजस्तै स्वतस्फूर्त यसको गतिमा बग्न दिनुपर्छ।

मानिसको आकर्षण

मानिस अरूकै तन, धन, पद र प्रतिष्ठासँग मात्र आकर्षित भएको देखिन्छ। अरूको धन र अरूको तनप्रतिको आकर्षण संसारप्रतिको आकर्षण हो। अरूको निन्दा र परचर्चा मनको आदत हो भने स्वयम्‌भित्र डुब्ने कला आफैंलाई जान्नु र पढ्नु हो। जिउने शैली आफ्नै स्वान्तः सुखाय किन नअपनाउने?

जीवनको आधाभन्दा बढी समय हामी अरूकै लागि दिएका हुन्छौँ, सोचाइमा मात्र भए पनि। अरूकै घर ठूलो, अरूकै सन्तानले प्रगति गरेका छन्। अरूले नै धेरै कमाइसके, अरू नै बढी विदेश घुम्छन्, अरूकै गाडी नयाँ डिजाइनको। जे जति चीज र परिस्थितिसँग तुलना गर्न मिल्छ, अरूकै राम्रो देख्ने र आफूसँग भएका कुरामा सन्तोष नमान्ने बानी बसिसकेको छ। अरूको राम्रो देखे पनि प्रशंसा गर्न भने आउँदैन फेरि, अरूको प्रगतिमा ईर्ष्या मात्र जाग्छ।

अरूको प्रगति वास्तवमै भएको छ भने नकारात्मक कुरा झिकेर तल पार्न भरमग्दुर कोसिस गरिन्छ। त्यो अरू को हो त? उसले पनि अरूकै राम्रो मान्दो हो फेरि, यसको तात्पर्य बहिर्मूख भाव, बहिर्मूख चेतना, मन बाहिरै घुमिरहेको छ।

सबैलाई थाहा छ : संसारमा प्राप्त सबै चीज संसारमै छाडेर जानुपर्छ, एक मात्र चीज हामीसँगै जान्छ : त्यो हो चेतना। चैतन्य जो सदा अमर छ। अहिलेसम्म जसले आत्मज्ञान, शान्ति, आनन्द र मस्ती प्राप्त गरेका छन्, ती सबैले आफ्नै भित्र डुबेर, आफैंलाई पढेर र अन्तर्मुखी भएर हासिल गरेका छन्।

बुद्धले बोधगयामा ज्ञान पाउनु भएको थिएन, आफ्नै अन्तर्यलाई प्राप्त गर्नुभएको थियो। बोधगया एउटा संयोग मात्र थियो। तर हामी अर्थ नै नबुझी बोधगया गएमा शान्ति मिल्छ भन्ठान्छौँ। यी सबैको कारण हो : हामीले हाम्रो मौलिकता थाहा पाउन सकेका छैनौँ। पढ्न सक्ने हो भने सबैभन्दा ठूलो विश्व विद्यालय मानिस आफैं हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.