काठमाडौं : काठमाडौं महानगरपालिकाले आज र भोलि गरी महानगरका करिब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा–२१ लगनमा बिहीबार बालबालिकालाई खोप दिएर कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
प्रमुख शाक्यका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरमा पाँच सय ५८ जना महिला स्वास्थ्य स्वंमसेविका परिचालन गरिएको छ। उनीहरुले दुई सय ७९ वुथबाट २ दिनमा करिब ५५ हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउनेछन्।
उनले भने,‘हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउनुहुन आग्रह गर्दछौँ।’ कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ।
महानगरपालिकाको जनस्वास्थ्य विभागका अनुसार गएको असार महिनामा ५४ हजार ९ सय ६८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो। त्यस्तै, गएको वर्ष कार्तिकमा ६१ हजार ७ सय ९ जनालाई खुवाइएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।