दुवैजना अमेरिकी विस्तारवादका कट्टर विरोधी थिए

|

इलाम : टाउकोमा ओलिभ–ग्रिन क्याप, पाखुरामा चे ग्वेभाराको ट्याटु र हातमा सिगार। फुटबल जगतमा सबैभन्दा बढी चर्चामा रहने म्याराडोनाको फोटो हो।

जसको सम्बन्ध क्युवाली क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग छ। क्यास्ट्रोलाई दोश्रो पिता मान्थे म्याराडोना। जति बेला उनी लागुऔषधको कुलतमा लागेर मृत्युको मुखमा पुगेका थिए, उनै क्यास्ट्रोले नयाँ जीवन दिए। यी दुवै बीचको अर्को दुखान्त संयोग पनि रह्यो, एकै तारिखमा मृत्यु।

अर्थात् क्यास्ट्रोले अन्तिम स्वास फेरेको ठ्याक्कै ४ वर्षपछि २५ नोभेम्बर २०२० मा ६० वर्षको उमेरमा म्याराडोनाले समेत यो धर्ती छाडे। क्युबाली कम्युनिष्ट नेता फिडेल क्यास्ट्रो अर्जेन्टिनी फुटबल लिजेन्ड म्याराडोनाका साथी थिए। क्यास्ट्रो र चे ग्वेभारालाई म्याराडोना आफ्नो आदर्श ठान्थे। उनी आफ्नो साथी नै क्यास्ट्रो भएको बताइरहन्थे। 

सन् १९८६ डिएगो म्याराडोना पहिलोपटक क्यारेबियन टापु क्युवा पुगेका थिए। जहाँ उनको भेट फिडेल क्यास्ट्रोसँग भयो। आफ्नो १० नम्बरको अर्जेन्टिनी जर्सीसँग म्याराडोनाले फिडेल क्यास्ट्रोको ब्रान्डेड ओलिभ–ग्रिन क्याप साटेका थिए।

म्याराडोना बेला बेलामा फिडेलले दिएको त्यो उपहार लगाउँदै उनकै शैलीमा सिगार तान्दै भन्थे, ‘आई लभ फिडेल’। ३० वर्षअघि आफ्नी टिनएजदेखिकी प्रेमिका क्लाउडियासँग बिहे गर्दा म्याराडोनाले फुटबल जगतका हस्तीलाई निम्तो नदिए पनि कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोलाई भने बिहेमा बोलाएका थिए।

अर्जेन्टिनाका राष्ट्रिय सम्पत्ति मानिएका म्याराडोनाले क्युवामा उपचार गर्ने इच्छा राखे। १८ जनवरी २००० मा क्युवाको हभाना विमानस्थलमा उनले भने, ‘चे ग्वेभाराजस्तै म पनि विद्रोही हुँ। मलाई क्युवाली उपचार प्रणालीमा विश्वास छ। उनीहरुले मेरो सफल उपचार गर्न सक्छन्, ‘उनको मन ठूलो छ,’ फिडेलबारे म्याराडोनाको टिप्पणी  थियो, ‘म यो संसार छाड्न चाहन्नँ। म निरन्तर संघर्ष चाहन्छु। बाँकी जीवन आफ्ना छोरीहरुसँग बिताउन चाहन्छु। सबै युवा कुलतबाट टाढा बस्नुपर्छ,’ जीवन जोखिममा पारिसकेका म्याराडोनाले युवा पिँढींलाई चेतावनी दिँदै भने।

क्युवामा म्याराडोनाको उपचार गर्ने निर्णय फिडेल क्यास्ट्रोका लागि ठूलो खुसीको विषय थियो। उनले म्याराडोनाको सम्पूर्ण उपचार खर्च क्युवा सरकारले नै व्यहोर्ने निर्णय गरे। झण्डै पाँच वर्ष क्युवामा लागुऔषधको कुलत छुटाउन बस्दा क्यास्ट्रोसँग म्याराडोनाको सम्बन्ध चुलिएको थियो। क्यास्ट्रोकै प्रेरणामा आफू कोकिनसहितका ड्रग्सबाट छुटकारा पाएको भन्दै म्याराडोनाले उनलाई आफूलाई जीवनदान दिने नेता भएको बताउँथे।

यी दुईबीच दोस्तीको पछाडि दुवै अमेरिका र उसको विस्तारवादी नीतिका कट्टर विरोधी थिए। अमेरिकाले दक्षिण, मध्य अमेरिकी देश र विश्वभर आफ्नो प्रभुत्व जमाउन जस्तोसुकै हर्कत गर्ने गरेको आरोप दुवैले लगाउने गरेका थिए। सन् २००५ मा म्याराडोनाले अर्जेन्टिनाको टिभीमा अन्तर्वार्ता लिँदै कसरी जर्ज डब्लु बुस अमेरिकाको राष्ट्रपति चुनिए भन्ने प्रश्नमा क्यास्ट्रोको जवाफ थियो, ‘धोकेबाज मियामीको आतंकवादी माफिया।’ 

उनले एक समय क्यास्ट्रोसँग बाचा गरेका थिए राष्ट्रपति बुसको अर्जेन्टिना भ्रमणको दौरान उनले बुस विरोधी अभियानको नेतृत्व गर्ने छन्। उनले भनेका थिए, 'मलाई लाग्छ बुस हत्यारा हो। म उनको विरूद्ध मार्चतिर अग्रसर हुने छु अर्जेन्टिनाको माटोमा पैदल हिँड्दै।’ जसलाई उनको १० विवादास्पद अभिव्यक्तिको रुपमा लिइन्छ। 

म्याराडोना क्यास्ट्रोलाई कतिसम्म मन पराउँथे भने उनले आफ्नो देब्रे खुट्टामा फिडेलको ट्याटु नै खोपाएका थिए। उनको दाहिने पाखुरामा चे ग्वेभराको ट्याटु थियो। क्युवाको क्रान्तिमा फिडेलका सहयोद्धा रहेका चे ग्वेभारा जन्मले अर्जेन्टिनी थिए।

विभिन्न अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशित सामग्रीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.