कोकिनको कुलतले बिगारे आधा खेल जीवन

|

काठमाडौं : विश्‍व फुटबलले देखेको सर्वकालीन महान् फुटबलर डिएगो म्याराडोनाको निधनसँगै अहिले विश्‍व फुटबल शोकमा छ।

लिजेन्ड म्याराडोनाकै कारण नेपालमा अहिले पनि सर्वाधिक धेरै फ्यान अर्जेन्टिनाकै छन्। भलै ब्राजिलियन समर्थकहरु र अर्जेन्टिन समर्थकबीच नेपालमा को बढी भन्‍ने रस्साकसी हरेकजसो विश्‍वकप मुभमेन्टका दौरान पर्ने गर्छ।

म्याराडोनाले फुटबललाई अर्को युगमा पुर्‍याए। कारण भर्खर-भर्खर टेलिभिजन मानिसहरुको पँहुचमा पुग्दै थियो। त्यही समयमा अर्जेन्टिनाले सन् १९८६ को विश्‍वकप जित्यो त्यो पनि म्याराडोनाको सनसनीपूर्ण प्रदर्शनमा।

त्यही भएर विश्‍वभर अर्जेन्टिन समर्थकहरु (अझ जसले म्यारोडोनाको खेल हेरे) हरुका लागि त देउता नै बने, म्याराडोनाले अर्जेन्टिनालाई सबथोक दिए। तर आफैं भन्‍ने अनेक हत्कण्डाका कारण विवादबाट माथि रहेनन्।

झोपडपट्टीबाट उठेको एक गरिब

म्याराडोनाको जन्म ब्युनस आयर्सको लुनुसस्थित एक गरिब परिवारमा सन् १९६० मा भएको थियो। यो ब्युनस आयर्सको झुपडी इलाका थियो। भिल्ला फोरिटो भनिने उक्त इलाका सबैभन्दा डरलाग्दो मानिन्थ्यो। त्यहाँ धेरै मानिसको पेशा नै अपराधिक कर्म गर्ने हुन्थो।

परिवारको गरिबीका कारण सानोमा म्याराडोना अवैध चुरोट बेच्ने काममा लागे। उनले सानैमा नजिकबाट दुर्ब्यसनलाई देखेका थिए। तर उनी किशोर अवस्थामा नै फुटबलमा तानिँदा भविष्य बर्बाद भएन। उनको जीवनले तेस्रो जन्मदिनमा काकाले दिएको छालाको बलसँगै परिवर्तनको लय समातेको थियो।

भनिन्छ, उनले उक्त बल ६ महिनासम्म आफू सुत्दा पनि सँगै राख्थे। त्यही लगावका कारण उनको जीवन पूरै बदलियो। यसका साथै फुटबलसँगको अनेक मोडले बाँन्चुजेल विश्‍वभरको चर्चाको केन्द्रमा रहिरहे।

१० वर्षमै क्लब फुटबलमा

१० वर्षको उमेरमा नै म्याराडोनाले रोजना एस्ट्रेला क्लबका लागि फुटबल खेले। यसै क्लबबाट खेल्दै गर्दा उनी अर्जेन्टिनाका अन्य क्लब अर्जेन्टिनोस जुनियर र लस केबोलिटास जस्ता चर्चित क्बलको नजरमा परे। तर १२ वर्षसम्म उनी बल ब्वाईका रुपमा रहे।

१५ वर्षको उमेरमा उनले अर्जेन्टिनोस जुनियर्सबाट ब्यवसायिक फुटबल सुरु गरे। सन् १८८१ मा उनले बोका जुनियर्ससँग सम्झौता गरे। सन् १९८२ मा बोका जुनियर्सबाट खेल्दा उनले करिअरको पहिलो मेडल प्राप्त गर्न सफल भए।

पहिलो विश्‍वकपमा २ गोल

म्याराडोनाको खेल कला देखेर उनलाई सन् १९७७ मा राष्ट्रिय टिममा राखिएको थियो। यद्यपि उनलाई सन् १९७८ को विश्‍वकपमा अझै सानै भएको भन्दै सहभागी गराइएन। सन् १९७८ को विश्‍वकप जित्‍ने अर्जेन्टिना १९८२ मा डिफेन्डिङ च्याम्पियनका रुपमा मैदानमा थियो। यो पटक टिममा म्याराडोना पनि थिए।

डिफेन्डिङ च्याम्पियन टिममा म्याराडोना भएका कारण पुन: च्याम्पियन हुने आत्माविश्‍वासमा अर्जेन्टिना थियो। तर पहिलो चरणमा म्याराडोनाले केबल दुई गोल मात्र गर्न सके। दोस्रो चरणमा ब्राजिलसँग पराजित हुँदै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरियो।

१९८६ को विश्‍वकप र 'ह्यान्डस अफ गड'

सन् १९८६ को विश्‍वकप म्याराडोनाका लागि विशेष बन्यो। उनले इंग्ल्यान्डविरुद्ध गरेको दुई गोल विश्‍वले चाहेर पनि बिर्सिन सक्दैन। मेक्सिकोमा भएको त्यस विश्‍वकपमा इङ्ग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलको ५१ औं मिनेटमा भएको गोल 'ह्यान्डस अफ गड'का रुपमा लिइन्छ। त्यो गोल रेफ्रीका लागि हेड थियो । तर त्यो खासमा हातले हानिएको थियो। पछि म्यारोडोनाले उक्त गोलबारे भने, ‘केही मात्रामा मेरो हेड थियो। अलिकति भगवान्‌को हात । '

त्यसको चार मिनेटपछि नै म्याराडोनाले अर्जेन्टिनाका लागि विजयी गोल पनि सम्भव बनाए। यसलाई निर्विवाद रूपमा अहिलेसम्मकै सर्वकालीन महान् गोल मानिन्छ। उनले १०.८ सेकेन्डभित्र १२ ‘टच’ को मद्दतले इंग्ल्यान्डका पाँच खेलाडीलाई छलाउँदै गोलरक्षक पिटर सिल्टनलाई थाहै नदिई बललाई पोस्टको दिशा दिएका थिए।

अर्जेन्टिनाले त्यस विश्‍वकपमा १४ गोल गरेको थियो। त्यसमध्ये पाँच गोल म्याराडोनाकै नाममा थियो । उनकै कप्तानीमा अर्जेन्टिनाले विश्‍वकप पनि जित्यो, फाइनलमा तत्कालीन पश्चिम जर्मनी पराजित भयो।

फिडेलसँग जोडिएको संयोग

म्याराडोना क्युवाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्त्रोलाई आफ्नो दोस्रो बुवा मान्थे। उनी क्यास्त्रोलाई यति धेरै मनपराउँथे की हरेक समय उनी फुर्सद हुन साथ क्यास्त्रोसँग गफ गर्थे। २५ नोभेम्बर २०१६ मा क्यास्त्रोको मृत्यु भयो उनी ४ डिसेम्बर २०१६ मा क्यास्त्रोको अन्तीम दर्शनका लागि क्वुवा पुगेका थिए। संयोग उनले पनि क्यास्त्रो बितेकै दिन अर्थात २५ नोभेम्बरमै जीवन त्याग गरे।

गोल अफ द सेन्चुरी

म्याराडोनाले दुई विश्‍वकपमा अर्जेन्टिनाको कप्तानी गरे, दुवैमा टिमले फाइनल यात्रा सम्भव बनायो। एकमा एतिहासिक जित निकाल्दा करिअरको सनसनीपूर्ण समयमा नै उनले खेल जीवनमा उतरचढावको सामना गर्न पुगे। यद्यपि उनले करिअरमा अनेक अवार्ड र सम्मान पाए । सन् १९७९ र १९८० मा उनी दक्षिण अमेरिकी वर्ष खेलाडी घोषित भए । सन् १९८६ को विश्‍वकपमा उनले गोल्डेन बल अवार्ड पनि जिते । यी सबैभन्दा पनि प्रिय भनेको सन् १९८६ मा उनले इंग्ल्यान्डविरुद्ध क्वार्टर फाइनलमा गरेको दोस्रो गोललाई फिफाले नै ‘शताब्दीकै उत्कृष्ट गोल’ घोषित गर्यो।

ड्रग्सले सकेको करिअर

फुटबलमा उनी जति सुन्दर थिए, दर्शकलाई निरास बनाउन पनि उनि उतिकै जिम्मेवार रहे। करिअरको अन्त्य लागूऔषधकै कारण भएको मान्‍नेहरु धेरै छन्। फुटबल करिअरकै उत्कृष्ट लयमा छँदा नै उनले लागुऔषध सेवन सुरु गरे। उनी आफैले पनि यो कुरा स्वीकारेका छन्।

लागुऔषध दुर्व्यसनी भएको स्वीकार गर्दै १९९६ मा म्याराडोनाले भनेका थिए ‘मलाई ड्रग्स खाएको सुनाउँदा कुनै संकोच छैन, म सधैँ यस्तै रहिरहने छु। '

म्याराडोना सन् १९८० देखि नै ड्रग्स तथा अल्कोहलको लतमा परेको मानिन्छ । सन् १९८४ मा उनी इटालियन क्लब नापोलीमा आवद्ध भए । जहाँ उनी कोमोरा नामको प्रतिबन्धित औषधिका कारण पटक पटक अनुसन्धानको घेरामा परे।

सन् २०१४ मा एक अन्तर्वार्ता दिँदै उनले  भने, ‘मैले विपक्षीहरूलाई ठूलो मौका दिएँ। यदि लागुऔषध नलिएको भए मेरो स्तरबारे कसैले पनि अनुमान लगाउन सक्दैन थिए। अहिले मलाई पछुतो लाग्छ । ’

नापालीमा धेरैलाई जानकारी थियो मयाराडोना कोकिन लतमा परेको। तर, क्लबले प्रमाण भेटाउन नसक्दा उनी जोगिँदै आएका थिए। सन् १९९१ मा कोकिन सेवन गरेको आरोपमै नापोलीले म्याराडोनालाई १५ महिना प्रतिबन्ध लगायो । त्यही वर्ष ब्युनर्स आयर्समा उनी एक किलो कोकिनसहित समातिए। १४ महिना प्रहरी हिरासतमा बसे । तर, उनको लत जेल बस्दा पनि हटेन।

डोपिङका कारण प्रतिबन्ध

सन् १९९४ मा पुनः अर्जेन्टिनी टोलीको कप्तानी गर्दै म्याराडोनाले अमेरिकामा भएको विश्‍व कपमा सहभागिता जनाए । पहिलो चरणमा ग्रिसविरुद्ध आकर्षक गोल गरेपछि म्याराडोना चर्चाको शिखरमा पुगे। आठ वर्षपछि गोल गर्दा उनी आफैँ पनि औधी खुसी भए ।

तर उनको खुसी लामो समय टिकेन। आयोजकबाट गठित एन्टिडोपिङ कमिटीले म्याराडोनाको रगत परीक्षण गर्यो। जहाँ उनले कोकिन सेवन गरेको प्रमाणित भएसँगै फिफाले १५ महिना उनको सबै फुटबल गतिविधिमा प्रतिबन्ध लगायो।

त्यसपछि उनको सुन्दर फुटबल जीवनमा पूर्णविराम लाग्यो। १९९० देखि १९९६ सम्म उनको ६ पटक रगत परीक्षण हुँदा तीनपटक लागुऔषध सेवन गरेको पाइएको थियो।

२० वर्षअघि नै मृत्युको मुखमा

उनी फुटबल करिअरको अन्तसँगै झनै अम्मली बन्दै गए। पटक पटक कोकिनसँग समातिए पनि उनले लत त्याग्न सकेनन्। सन् २००० मा ड्रग्स ओभर डोज हुँदा म्याराडोनालाई हर्ट एट्याक्ट भयो ।

एक वर्षपछि उनको बाइपास सर्जरी गरिएको थियो । पुन त्यसको दुई वर्षपछि अर्थात २००४ मा पनि अत्यधिक लागुऔषध लिएकै कारण मृत्युको मुखमा पुगेर बाँचेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.