|

काठमाडौं  : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन्। संसदीय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा सहभागी भएका ज्ञवालीले विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको अरू कुनै स्वार्थ नरहेको बताएका हुन्।  

मन्त्री ज्ञवालीले भारतबाट विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित नै हुने बताए। ‘नेपालको परराष्ट्र नीति सधैंभरि सन्तुलित नै छ। दुवै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै अगाडि बढ्ने र आर्थिक विकासबाट लाभ लिनेबाहेक अरू कुनै स्वार्थ छैन’ उनले भने। 

मन्त्री ज्ञवालीले चीन र भारतको प्रतिस्पर्धामा नेपाल तटस्थ रहने पनि बताए ‘उहाँहरूको प्रतिस्पर्धामा नेपाल कहीँ पनि छैन। हुने कुरा पनि भएन। उहाँहरूको बीचमा केही समस्या आयो भने वार्ता र संवादको माध्यमबाट समाधान गर्नुहोस् भन्ने चाहन्छ नेपाल’ उनले भने।  

यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने भन्ने सुझाव दिने ज्ञवालीको भनाइ छ।  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला बिहीबार बिहान चार्टर्ड विमानमार्फत काठमाडौं आइसकेका छन्। भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने बताइएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।  

यस्तै, चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउँदैछन्। नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो। भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने मन्त्री ज्ञवालीले बताए। रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाइएको थियो। तर, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली गएनन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.