निजी प्रयोगशालाबाट प्रमाणित कागजपत्रमा बढी गलत

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई असोज २४ गते कोरोना संक्रमण भयो। कात्तिकको दोस्रो उनी संक्रमणमुक्त भए।

भट्टराईले कोरोना संक्रमण हुनेबित्तकै कोरोना बिमा बापतको रकम पाए। उनले पाएको १ लाख बिमा रकमले ३ सय जनाको कोरोना बिमा गरिदिए। उनले यसअघि आफ्नो तलब र अन्य सुविधाबाट करिब ३ सयको कोरोना बिमा गरिदिएका थिए।

निजी तथा सरकारी प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा लाखौंलाई कोरोना पुष्टि भएको छ। त्यसमध्ये हजारौंले कोरोना बिमा गरेका छन्। त्यसमध्ये सयौंमा कोरोना पुष्टि भए ता पनि कोरोना बिमाबापत रकम पाउन सकेका छैनन्।

विभिन्न बिमित कम्पनी गरेर अहिलेसम्म ३० हजार संक्रमितले कोरोना बिमा रकमको दाबी गरिसकेका छन्। संक्रमित संख्या बढेसँगै कम्पनीले बिमा रकम भुक्तान गर्न ढिलाइ गरेको थियो।

अर्थमन्त्री विष्णु पौडेलले बिमक कम्पनीलाई दाबी गरेको एक हप्तासम्म भुक्तान गर्न निर्देशन दिएका थिए। त्यसभन्दा अगाडि १७ सयले बिमा रकम पाएका थिए। मन्त्रीले निर्देशन दिएपछि बिमक कम्पनीले ५८ सय बिमितले रकम भुक्तानी पाइसकेका छन्।

'बिमा रकम पाउनेमा शंका'

सामाखुसीकी हेमा राईलाई कात्तिक कात्तिक २१ गते कोरोना पुष्टि भयो। उनी होम आइसोलेसनमा बसेर मंसिरको पहिलो साता संक्रमणमुक्त भइन्। संक्रमण पुष्टि भएपछि बिमक कम्पनीलाई उनले खबर गरिन्।

सगरमाथा लाइफ इन्स्योरेन्स कम्पनीबाट बिमा गरेकी थिइन्। बिमा भुक्तानीको लागि सबै कागजात पेस गरिसक्दा पनि कम्पनीले बिमा रकम पाउन नसकेकी उनले गुनासो गरिन्। उनले भनिन,'कागजात पेस गरेको एक सातामा बिमा रकम भुक्तान गर्नेभन्दा पनि नगर्दा बिमा कम्पनीप्रति शंका बढ्दै गएको छ।'

होम आइसोलेसनमा बस्दा २० हजार खर्च भएको उनले जानकारी दिइन्। बिमा रकम उपचार गर्न भए पनि समयमा बिमा गरिएको पैसा पाउन नसक्दा उपयुक्त हुन नसकेको उनी बताउँछिन्।

'अबको एक हप्तामा २२ सयले बिमा रकम पाउँछन्'

शिखर इन्स्योरेन्सका अध्यक्ष प्रकाश दीप पाण्डेका अनुसार नियमसंगत कागजात प्रक्रिया पुगे सहजै बिमा भुक्तानी गरिएको छ। अहिलेसम्म कम्पनीमा बिमा दाबीका लागि १० हजार बढीको कागजपत्र परिसकेको उनले बताए। उनका अनुसार १० हजार ८ सय ९९ बिमा रकमको लागि दाबी परेको छ।

कुल बिमा दाबीको संख्या ३० हजार परिसकेको उनले जानकारी दिए। अहिले बिमा रकमका लागि केही गलत कागजपत्र पेस भएकाले चाँडो भुक्तान गर्न नसकिएको उनको भनाइ छ। केही सञ्चारकर्मीले डबल भुक्तानी लिएकाले त्यस्ताबाट पनि रकम फिर्ता लिएको उनले प्रस्ट पारे।

'निजी प्रयोगशालाबाट गरीएको कोरोना परीक्षणमा शंका लागेर इडिसिडिबाट रुजु गर्ने गरिएको छ,' उनले भने, 'सरकारी प्रयोगशालाबाट गरिएको कोरोना परीक्षणमा समस्या छैन।' तत्कालै २२ सयको बिमा रकम भुक्तान गर्ने तयारी भइरहेको उनले जानकारी दिए। इडिसिडिबाट रुजु हुनासाथ एक हप्तामा रकम प्राप्त गर्ने सकिने उनको भनाइ छ।

गलत कागजात पेस भएकोले बिमा भुक्तानमा ढिलाइ भएको उनले जनाए। धेरैमा बिमा रकम पाइँदैन भन्ने आशंका लागेको भए मनबाट आशंका हटाउन पाण्डेले आग्रह गरे।

'निजी प्रयोगशालाको कागजपत्रमा शंका लागेकाले छानबिन'

बिमा रकम प्राप्त गर्न गलत कागजपत्र समावेश गरिएकाले एक छानबिन समिति बनाइएको छ। बिमा भुक्तान प्राप्त गर्न केहीको गलत कागजपत्र परेको समितिका उपनिर्देशक निर्मल अधिकारी बताउँछन्।

सरकारी प्रयोगशालाभन्दा निजीमा गरिएको परीक्षणमा बढी गलत विवरण आएकाले छानबिन गर्नुपर्ने भएकोले ढिलो भएको उनले सुनाए। बिमितको ठेगाना, उमेर गलत समावेश भएका र केही बिमक कम्पनीको प्राविधिक कारणले ढिलो भएको उनले बताए।

सम्बन्धित बिमक कम्पनीलाई के कारणले ढिलो भएको त्यस बारेमा बिमितले बुझ्न उनले आग्रह गरे। ढिलो चाँडो बिमितले जसरी भए पनि बिमावापतको रकम पाउने उनको दाबी छ।

बिमितले बिमाको प्रिमियम योजनाअनुसार रकम प्राप्त गर्ने भएको छ। कम्पनीले ५० हजार १ लाखको प्रिमियम बिमा बनाएको थियो। गत भदौ २८ सम्म बिमा गरेका बिमितले पुरानै मापदण्डअनुसार एकमुष्ट ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन्।

भदौ २९ यता कोरोना बिमा गरेकाले घरमै आइसोलेसनमा बसेको भए एकमुष्ट २५ हजार रुपैयाँ र अस्पताल गएको भए खर्चअनुसार बढीमा ७५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाउँछन्।

भदौ २८ अघिका बिमितले  घरमै आइसोलेसनमा बसेको भए पोजिटिभ देखिएको पिसिआर रिपोर्टसहित स्थानीय तहको सिफारिस र अस्पतालमा उपचार गराएको भए डिस्चार्ज रिपोर्ट पनि पेस गर्नुपर्नेछ। भदौ २८ पछिका बिमितको हकमा पनि यही प्रावधान लागु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.