|

ताप्लेजुङ : ताप्लेजुङका पाँच विद्यार्थीले जर्ज वयाण्ड मेमोरियल छात्रवृत्ति प्राप्त गरेका छन्। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)ले उनीहरुललाई बिहीबार चार लाख आठ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको हो।

रिड नेपाल ताप्लेजुङका व्यवस्थापक राजेन्द्र पन्तका अनुसार प्राविधिक तर्फ चार र साधारण विषयतर्फका एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। छात्रवृत्ति प्राप्त गर्नेमा तीन वर्षे सिभिल इञ्जिनियरिङ अध्ययनरत सरस्वती च्यारिबुक माध्यमिक विद्यालयकी फुपुछिरिङ शेर्पा, १८ महिने जेटिएमा अध्ययनरत सुनदेवी मावि इखाबुकी दिलु लिम्बू र सरस्वती च्यारिबुककी अनुस्का राई रहेका छन्। उनीहरुले प्रतिव्याक्ति एक लाख ४४ हजार रुपैयाँ प्राप्त गरेका छन्। 

यस्तै, विज्ञान संकायमा भर्ना भएका गणेश मावि खेवाङका दिवश दाहाललाई ७२ हजार रुपैयाँ र साधारण विषयतर्फ गणेश मावि खेवाङमा शिक्षा शास्त्र संकायमा अध्ययनरत दिपेश भट्टराईले ४८ हजार रुपैयाँ पाएको प्रदान गरिएको शिक्षा विकास अधिकृत रोमा माबोले जानकारी दिइन्। २०७६ सालको एसइईमा ल्याएको जिपिए, आदिवासी र पारिवारिक आर्थिक अवस्था लगायतको मापदण्डको आधारमा छात्रवृत्ति प्रदान गरिएको माबोले बताइन्।

रिडले सात वर्षदेखि प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ। हालसम्म आफ्नो कार्य क्षेत्रका ६८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको जिल्ला व्यवस्थापक पन्तले बताए। रिडले फक्ताङ्लुङ र सिरिजंगा गाउँपालिकाका विद्यालयहरुमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.