|

बुटवल : बुटवलको खानेपानी समस्याको दीर्घकालिन समाधानका रुपमा लिइएको झुम्सा खोलामा खानेपानीका लागि व्यवस्थित र आधुनिक बाँध निर्माण सुरु भएको छ। बुटवल खानेपानी सुधार आयोजनाका रुपमा निर्माण हुने उक्त बाँध र इन्टेक ड्यामको नेपाल सरकारका अर्थमन्त्री एमं नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बिहीबार शिलन्यास गरेका छन्। उक्त नयाँ आयोजना अबको दुई वर्ष भित्रमा अर्थात् ०७९ जेठसम्मै निर्माण पूरा हुने लक्ष्य लिइएको छ।

मुलुककै नमुना अयोजनाका रुपमा लिइएको उक्त काम तोकेको समयमै सम्पन्न नभएपछि र पहिलेको बाँध बाढीले भत्काएपछि अर्थमन्त्री एवम् नेकपा महासचिव पौडेलले बिहीबार खानेपानी मन्त्रालयका सचिव, प्राविधिकहरु, निर्माण कम्पनी, दुबै जिल्लाका जनप्रतिनिधि, नागरिक अगुवासमेतलाई मुहानमै लगेर साझा प्रतिबद्धता पनि गराएका छन्।

बाँध संगै मुख्य ट्रान्समिसन पाइप लाइनको पनि निर्माण सम्झौता भएर काम सुरु भएको छ। पाँच सय र दुई सय पचास एमएमडीआईका पाइपलाई १३ किलोमिटर पाँच सय मिटरमा विस्तार गर्ने काम सुरु भएको हो। यो कामलाई पनि ०७९ बैशाख भित्रै सक्ने लक्ष्य लिइएको छ।

बाँधलगायतका संरचनाहरुको निर्माण लागत रु ७३ करोड ६४ लाख, पानी प्रशोधन प्रणाली, पानी भण्डारण ट्यांकी, वितरण प्रणाली निर्माणका लागि भने पाँच अर्ब ६१ करोड ७१ लाख रुपैयाँ सहित आयोजनाको कुल लागत छ अर्ब ३५ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ।

खानेपानी संस्थानका अधिकारीहरु, राजनीतिक दलका विभिन्न तहका नेताहरु, नागरिक अगुवाहरुसहित पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने फिरफिरे घाटमा पुगेर अर्थमन्त्री पौडेलले सम्बन्धित निकायका अधिकारीहरुलाई पानीजस्तो संवेदनशिल वस्तुका लागि अब कुनै पनि प्रकारका अलमल स्वीकार्य नरहेको भन्दै तोकिएको समयमै काम सक्न निर्देशन दिए।

संघीय खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष जिउलाल चौधरी, खानेपानी संस्थानका महाप्रवन्धक डा.भुपेन्द्र प्रसाद, खानेपानी आयोजना बुटवलका प्रमुख मोहनदत्त भट्टसहितका अधिकारी, प्राविधिकहरु लिएर नेता पौडेल बिहीबार बिहानै उक्त स्थानमा पुगेका थिए।

साथै राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, पूर्वमन्त्री पाल्पाका संघीय सांसद सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सभाका सदस्य तुलाराम घर्ती, प्रदेश सांसद दधिराम न्यौपाने, प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीलगायत बाँध स्थलमा पुगेका थिए।

बुटवल रामफेदीदेखि करिब १३.५ किमि टाढा रहेको उक्त स्थानमा इन्टेक निर्माण गरेर पानीलाई दुई वटा ठूला पाइपमार्फत बुटवलसम्म ल्याउने योजना छ। यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण गर्न लागिएको हो।

त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि विछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ। यसअघि विछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ। भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप विछ्याइने छ।

बुटवल उपमहानगरपालिका र तिनाउ गाउँका बीचमा समन्वय, सहकार्य र आपसी सम्बन्ध अझ प्रगाढ बनाइने बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए। अहिले खानेपानीको समस्या झेलीरहेका खासगरी बुटवलको सुख्खानगर, दीपनगर, देवीनगर लगायतका क्षेत्रमा पहिलो प्राथमिकताको आधारमा खानेपानी वितरण हुने उनले बताए।

अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ। तर, आपुर्ती भने दुई देखि ढाइ करोड लिटरसम्म हुने गरेको छ। हाल पनि दैनिक करिब ६० लाख लिटर पानी अपुग छ। तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबवेल (बोरिङ्ग)बाट ८० लाख लिटर गरी खानेपानी आपूति गरिएको संस्थानले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.