|

सर्लाही : किसानले उखुको भुक्तानी नपाएपछि आधा मूल्यमा सक्खर उत्पादन गर्ने क्रसरलाई बिक्री गर्न बाध्य भएका छन्। जिल्लाको दक्षिणी क्षेत्रका किसानले चिनी उद्योगलाई बिक्री गरेको भुक्तानी चार वर्षदेखि पाउन सकेका छैनन्। 

भुक्तानी नदिएकै कारण गत वर्ष धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा आउन सकेन। अन्नपूर्णले त्यसअघि तीन वर्षको करिब २४ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ।

किसानको बक्यौता राखेको अन्नपूर्ण बन्द भएपछि यस क्षेत्रका किसानले बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु बिक्री गरेका थिए। महालक्ष्मीले पनि किसानको पूर्ण रुपमा भुक्तानी गरिसकेको छैन भने किसानलाई सात करोड रुपैयाँ तिर्न बाँकी छ।

चिनी मिलहरुले नगदे बाली भनिएको उखुको बक्यौता राख्न थालेपछि किसानले विकल्पका रुपमा स्थानीय क्रसर उद्योगलाई रोज्न थालेका छन्। सरकारले तीन वर्षदेखि उखुको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य तोक्दै आएको छ। यहाँका क्रसर उद्योगले प्रतिक्विन्टल तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा किसानको उखु खरिद गरिरहेका बरहथवा ३ शैदपुरका रामबाबु महतोले बताए।

धनकौल गाउँपालिका–२ का पवन साहले उखु क्रसर उद्योगमा बेचेर हिउँदे बाली लगाउने तयारी गरिरहेका छन्। ‘चिनी उद्योगले वर्षौंदेखिको भुक्तानी बाँकी राखेका छन्, क्रसर उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नगदै पाउँछु’, साहले भने, ‘उखु हटाएर गहुँसहित दलहन तथा तेलहन बाली लगाउने बेला पनि भएकाले सस्तैमा सक्खर बनाउने क्रसरलाई उखु दिइरहेका छौं।’

साहले चिनी उद्योगलाई उखु बेच्दा पैसा नै नपाइने भएपछि सस्तैमा भए पनि नगदै भुक्तानी लिन क्रसर उद्योगलाई उखु दिन बाध्य भएको गुनासो पोखे। 

चिनी उद्योगलाई चार वर्षअघि बिक्री गरेको उखुको भुक्तानी नपाएकै कारण यस वर्ष नगदै पाउने भएपछि क्रसर उद्योगलाई कम मूल्यमै उखु बेचेका स्थानीय बरहथवा–१५ पिप्राभित्ताका बिल्टु कुशवाहाले बताए।

‘किसानलाई चिनी उद्योगमा नै उखु बिक्री गरे फाइदा हुन्छ, तर चिनी उद्योगमा बेचेर के गर्नु, चार वर्षदेखिको भुक्तानी पाउन सकेको छैन’, उनले भने, ‘नगद पाउनकै लागि उचित मूल्य भन्दा पनि सस्तोमा क्रसर उद्योगलाई उखु बिक्री गरिरहेको छु’।

एक क्विन्टल उखुबाट १० किलो सक्खर तयार हुने भएकाले सक्खरको मूल्यअनुसार उखुको मूल्य तय गर्ने गरिएको क्रसर सञ्चालकहरुको भनाइ छ।’ जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखुको भुक्तानी समयमै उपलब्ध गराउँदै आएको छ।

बगदहको महालक्ष्मी र धनकौलको अन्नपूर्णले भुक्तानीमा निकै ढिलाइ गर्ने गरेका छन्। त्यस्तै सरकारले उखु किसानलाई उपलब्ध गराउने अनुदानको रकमसमेत ढिला गर्ने गरेकाले यस क्षेत्रका किसान उखु खेतीप्रति निरास बन्दै गएका छन्।

यस वर्ष सर्लाहीमा २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती भएको कृषि ज्ञानकेन्द्र मलंगवाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.