|

गोरखा : भारतीय विदेश सचिव हर्षवर्द्नन श्रृंगलाले गोरखामा भूकम्पपछि पुन:र्निर्माण गरिका ३ वटा विद्यालयको शुक्रबार उद्घाटन गरेका छन् ।

भारतको अनुदान सहयोगमा निर्मित गोरखा नगरपालिकास्थित तारा मावि छेवेटार, रत्‍नलक्ष्मी मावि डुम्रीडाँडा र लक्ष्मीबजारस्थित महालक्ष्मी मावि भवनको विदेश सचिव श्रृंगला र राष्ट्रिय पुन:र्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

त्यसक्रममा लक्ष्मीबजारस्थित महालक्ष्मी माविमा गरिएको उद्घाटन कार्यक्रममा बोल्दै श्रृंगलाले भूकम्पपछिको पुनर्निर्माणको सहयोगले नेपालसँगको सम्बन्ध अझै राम्रो हुने बताए।

त्यसक्रममा उनले भारतले हरेक वर्ष नेपालका ७ हजार विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको पनि उल्लेख गरेका छन्। श्रृंगलाले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मथलो गोरखा आउन पाउँदा खुसी लागेको उल्लेख गरे। 

‘गोर्खालीको बहादुरी विश्‍वमा चिनिएको छ। वीरहरुको भूमिका रुपमा चिनिएको गोर्खा आउन पाउँदा खुसी लागेको छ,’ उनले कार्यक्रममा भनेका छन्। गोरखाको विद्यालय उद्घाटनका क्रममा भारतीय राजदूत विनयमोहन क्‍वात्रा पनि पुगेका थिए।

भूकम्पमा क्षतिग्रस्त गोरखाका सात विद्यालय पुनर्निर्माणमा भारतले आर्थिक सहयोग गरेको हो। हाल गोरखाका अमर ज्योति जनता मावि लुइँटेल, गण्डकी मावि थुमि, कृष्णज्योति मावि गाखु र सूर्योज्योति मावि ताकुकोटका भवन बनिरहेका छन्। 

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको  थियो। सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण हुँदैछन्।

सन् २०१८ को मार्च महिनादेखि लागु भएको भारत सरकारबट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन्।

भूकम्प प्रभावित विभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन्। त्यस्तै, १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ।

भूकम्पपछि भारतले गोरखा र नुवाकोटमा ५० हजार घर पुननिर्माणको जिम्मा लिएको थियो। हालसम्म भारतको सहयोगमा ४६ हजार पाँच सय घर तयार भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.