|

कञ्चनपुर : कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी गर्दै आठ महिनादेखि बन्द विद्यालय सञ्चालनका लागि कञ्चनपुरका स्थानीय तह सरोकारवाला पक्षसँग छलफल र परामर्शमा जुटेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा तयार गरी पठाएपछि स्थानीय तहका जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र अभिभावक बीच छलफल र परामर्शको कार्य सुरु गरिएको छ।

विद्यालय सञ्चालनसम्बन्धी जारी गरिएको ढाँचामा उल्लेख गरिएअनुरुप कुन मोडालिटीमा विद्यालय सञ्चालन गर्न उपयुक्त हुन्छ भन्नेबारे छलफल केन्द्रित गरिएका छन्। 

विद्यालयलाई भयरहित तथा सुरक्षित रुपमा सञ्चालमा ल्याउन पहिलो चरणको छलफल कार्यक्रम सम्पन्न गरिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले बताए।

‘जोखिमको अवस्थालाई ध्यानमा राखी कुन मोडालिटीमा विद्यालय सञ्चालन गरे, विद्यार्थी र शिक्षकलाई सुरक्षित गर्न सकिन्छ भन्नेबारे छलफल गरेका छौं,’ उनले भने, ‘कार्यढाँचा मात्रै आएको छ।

कोरोनाको संक्रमण भइहाले स्वास्थ्य उपचारको व्यवस्था कुन निकायले गर्ने भन्नेबारे उल्लेख छैन। नगरपालिकासँग साधन श्रोतको पर्याप्त छैन। यस्तो अवस्थामा कार्यपालिका बैठक राखेर निर्णय गरी विद्यालय सञ्चालनको कार्य हुन्छ।’

सिद्ध वैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनसिंह महरा कार्य ढाँचामा उल्लेख भएअनुसार सबै विद्यालयमा एउटै मोडालिटी लागु गर्दा पठनपाठन एकनासले लैजान सकिने बताउँछन्।

‘आलोपालो वा सिफ्ट कुन मोडालिटीमा विद्यालय सञ्चालन गर्ने हो सम्बन्धित स्थानीय तहको शिक्षा शाखाले तय गर्नुपर्छ,’ उनले भने, ‘विद्यालयमा विद्यार्थी र शिक्षकको स्वास्थ्य जाँच व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ।’ 

राष्ट्रिय माध्यमिक विद्यालयका प्रअ वीरेन्द्र बहादुर साउदले एक जना विद्यार्थी संक्रमित भए सबै दोष विद्यालयका प्रअको थाप्लोमा आउने भएकाले व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘नियमित स्वास्थ्य परीक्षणको व्यवस्थासँगै शिक्षक विद्यार्थी संक्रमित भए उपचारको भरपर्दो व्यवस्था हुनुपर्छ। उपचार व्यवस्था नभए विद्यालय सञ्चालन गर्न गाह्रो छ।’

कार्यढाँचामै उल्लेख भएको क्वारेन्टाइनका रुपमा प्रयोग भएका विद्यालय निर्मलीकरणका लागि नगरपालिकाले उपलब्ध गराएको रकम थोरै भएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको भनाइ छ। 

क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग भएका विद्यालयका फर्निचर क्वारेन्टाइनमा बस्नेहरुले तोडफोड गरी क्षति गरेकाले मर्मत गरी सञ्चालनमा गाह्रो हुने राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदत्त जोशी बताउँछन्। यसका लागि नगरपालिकाले मर्मत खर्चको व्यवस्था गराउनुपर्ने उनको भनाइ छ।

कोरोना भाइरस प्रभाव आकलन गरी विद्यालय खोल्नुपर्ने बताउँछन् प्याब्सन कञ्चनपुरका प्रतिनिधि वसन्तराज पाण्डे। जिल्लामा एकरुपता आउने गरी विद्यालय सञ्चालन गर्नुपर्ने उनले बताए।

‘लामो समयदेखि विद्यालय बन्द हुँदा निजी विद्यालयका शिक्षको तलब बेहोर्नसमेत निकै कठिन छ,’ पाण्डेले भने, ‘शैक्षिक सत्र सकिन थोरै महिना मात्रै बाँकी छ। यस्तो अवस्थामा कुन किसिमले पढाउने पाठ्यक्रमसमेत तय गरिनुपर्छ।’

सामुदायिक विद्यालयका माथिल्ला कक्षामा एकै कक्षामा धेरै विद्यार्थी हुने गर्छन्। जसका कारण कसरी व्यवस्थापन गर्ने भन्नेबारे निर्क्योल हुुनुपर्ने शिक्षकहरुको भनाइ छ।

स्थानीय तहले समेत कुन मोडालिटीमा विद्यालय सञ्चालन गर्न उपयुक्त हुन्छ, त्यसबारे कार्ययोजना बनाउनसमेत विद्यालयलाई भनेको छ। धेरै विद्यालयले मोडालिटीअनुसार उपयुक्त कार्ययोजना बनाएर स्थानीय तहको शिक्षा शाखामा पेससमेत गरेका छन।

विद्यार्थी र शिक्षकलाई कम जोखिम हुने मोडालिटीमा विद्यालयलाई सञ्चालन गर्ने स्थानीय तहहरुको योजना छ। 

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गठन गरेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २०७६ चैत ५ गतेको निर्णयअनुसार सबै शिक्षण संस्था बन्द गरिएको थियो।

लामो समयसम्म शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी र शिक्षक अन्योल थिए। मन्त्रिपरिषदको २०७७ असोज २२ गतेको निर्णयअनुसार विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा लागु भएपछि  शिक्षण संस्थामा शिक्षण सिकाइ तथा परीक्षण र मूल्यांकनसम्बन्धी क्रियाकलाप व्यवस्थित बनाउने उद्देश्यले आलोपालो वा सिफ्टमा विद्यालय सञ्चालन गर्न अनुमति दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.