यो वर्ष लुम्बिनी प्रदेशमा मात्रै ५४६ दुर्घटना, १४६ को मृत्यु

|

रमेश पराजुली-

बुटवल : पछिल्लो समय बढ्दो सहरीकरण र सवारी चापका कारण सडक दुर्घटना बढेका छन्। चालकको हेलचेक्र्याइँ  र ट्राफिक जनचेतनाको कमीले दुर्घटना बढेको प्रहरीको अध्ययनले देखाउँछ।

गएको बुधबार बुटवलको कालिकानगरमा डरलाग्दो कार दुर्घटना भयो। तर, संयोगवश गाडीमा सवार यात्रु सामान्य घाइते भए भने गाडी क्षतविक्षद हुन पुग्यो। बुटवलबाट भैरहवातर्फ गइरहेको बा१२च ७४५६ नम्बरको कार तीव्र गतिका कारण अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो। क्षतविक्षद भएको कार देख्दा दुर्घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीको आङै सिरिंग हुने घटना थियो।

त्यस्तै, गत आइतबार दिउँसो बुटवल–९ स्थित नयाँ बसपार्क अगाडि टिपरको ठक्करबाट एक युवाको मृत्यु भयो। लु२ख १९०५ नम्बरको टिपरले चौराहाबाट बसपार्कतर्फ आइरहेको लु११प ४२१६ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा मोटरसाइलक चालक पाल्पाको निस्दी गाउँपालिका–३ का ३३ वर्षीय मनबहादर सोतीको मृत्यु भयो।

व्यस्त बजार बुटवलमा टिपरको ठक्करबाट ज्यान गुमाएको यो पहिलो घटना भने होइन यसअघि पनि धेरै पटक पैदलयात्री तथा मोटरसाइकल, स्कुटर चालकहरूले पनि ज्यान गुमाइसकेका छन्। टिपर आतंकले देशभरिमा दैनिकजसो औसत २ जनाको ज्यान जाने गरेको बताइन्छ। सानो उमेरका चालकले ठूला मालबाहक सवारीसाधान चलाउनु पनि दुर्घटनाको प्रमुख कारण भएको विषय पनि समय समयमा उठिरहन्छ। तर, दुईचार दिनमै त्यो विषय आफैँ सेलाउँछ।

त्यस्तै, बुटवल–भैरहवा सडकखण्डको भलबारीमा आइतबार राति लु२४प ७५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङको मृत्यु भयो। यी त पछिल्लो हप्ताका केही उदाहरण मात्रै हुन्। यसरी नै पछिल्लो समय दैनिकजसो दुर्घटना भइरहेका छन् भने दुर्घटनामा परी मृत्यु हुने मानिसको संख्या पनि बढिरहेको छ।

लुम्बिनीमा मात्रै ५४६ दुर्घटना, १४६ को मृत्यु

चालु आर्थिक वर्ष ०७७/७८ को कार्तिक मसान्तसम्ममा लुम्बिनी प्रदेशमा ५४६ वटा सवारी दुर्घटनामा परेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ। जसमा सबैभन्दा धेरै २९७ वटा मोटरसाइकल, ७३ वटा जिप कार, ४१ वटा ट्रक–ट्याङ्कर, ३७ वटा शारीरिक शक्तिले चल्ने, ३२ वटा ट्याक्टर, २२ वटा टेम्पो, २१ वटा टिपर, १२ वटा बस, एकएक वटा डोजर स्काभेटर, माइक्रो र नौ वटा अन्य सवारीसाधन रहेका छन्।

चालु आर्थिक वर्ष ०७७/७८ को कार्तिक मसान्तसम्मको तथ्यांक हेर्दा लुम्बिनी प्रदेशमा दुर्घटनामा परी १४६ जनाको मृत्यु भइसकेको छ। जसमा रुपन्देहीमा मात्र ३७ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सडक विभाग तथा स्थानीय निकायको सडक मर्मतमा ध्यान नजानु, सवारी चालकहरूले ट्राफिक नियमको पालना नगर्दा र छाडा चौपायका कारणले बढी दुर्घटना हुने गरेको बताउँछन्।

‘दुर्घटना कम गर्न र सवारी चापबाट जोखिम घटाउन सवारीको व्यवस्थापन, सडकको निर्माण तथा गुणस्तर विस्तार गरी सडक नीति बनाएर ट्राफिक नियमलाई सबैले पालना गर्नुपर्छ,’ पाण्डेले भने।

‘तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर अप्ठ्यारो सडकमा सवारी चलाउने, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, हेलचेक्र्याइँ तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे बनाइएका ऐन कानुनबारे चेतना नहुनु सडक दुर्घटनाका प्रमुख कारण हुन्’ उनले भने।

पाण्डेले थपे, ‘निर्माणाधीन सामग्री बोक्ने टिपर साथै मालबाहक ठूला गाडीहरू सञ्चालन गर्नको लागि छुट्टै बाइपास सडक नहुँदा मुख्य बजार क्षेत्र भएर गुड्ने ठूला मालबाहक सवारीको चाप बढिरहेको छ जसले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। साथै पछिल्लो समय सडकमा साना सवारीसाधनको संख्या बढिरहेको छ। सवारीको बढ्दो चापअनुसार सरकारले सवारीको व्यवस्थापन र सडकको निर्माण कार्यलाई प्राथमिकताकामा राखेर काम गर्नुपर्छ।’

‘दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी सधैं सडकमा खटिरहे पनि ट्राफिक प्रहरीको मात्रै प्रयासमा यो सम्भव हुँदैन, सवारीचालक र यात्रुहरूसमेत जिम्मेवार भएर सबैले सहकार्य गरी आ–आफ्नो ठाउँबाट सहयोग गरेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’ पाण्डेले भने।

मानवीय त्रुटि कि प्रविधिको दोष?

बढ्दै गएको सवारी दुर्घटनाका लागि मानवीय त्रुटिसँगै प्राविधिक कारण पनि दोषी रहेको विज्ञहरूले बताएका छन्। विज्ञहरूका अनुसार सडकको डिजाइन र सडकले थेग्न नसक्ने किसिमका सवारीसाधनको सञ्चालनले पनि दुर्घटना बढ्दै गएको हो।

यसका साथै लाइसेन्स, सडकमा सांकेतिक ट्राफिक चिह्‍न र जरिवाना प्रभावकारी नहुँदा दुर्घटना बढेको पाइन्छ। दुर्घटनाबाट आर्थिक, भौतिक नोक्सानीले स्थिति भयावह हुँदा त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी प्रयास हुन सकेको छैन। सवारी चालकले ट्राफिक नियम पालना नगरेमा ट्राफिक प्रहरीले ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरेको छ।

बढी दुर्घटना हुनेमा मोटरसाइकल

दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी दुर्घटनाको प्रकृतिअनुसार छानबिन समितिको स्थलगत अनुगमनको आधारमा दुर्घटनाको कारण पत्ता लगाएर सोहीअनुसार मुद्दा चल्ने गर्छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा बढी मोटरसाइकल चालक छन्। उनीहरूलाई मालबाहक ट्रक, टिपर तथा बसले ठक्कर दिएको पाइएको छ। ट्राफिक नियम नमान्दै लेन अनुशासन मिचेर सवारी चलाउँदा दुर्घटनाको जाखिम झनै बढेको छ।

पैदलयात्रीमा समेत कसरी सडक पार गर्ने भन्ने चेतना नहुनु, आकाशे पुल हुँदाहुँदै अटेर गरी व्यस्त सडकबाटै सडक पार गर्न खोज्नु, झुण्डिएर तथा कोचिएर यात्रा गर्नु हुँदैन भन्ने ज्ञान नहुनु पनि दुर्घटनाको मुख्य कारण हो। त्यसैले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सम्बन्धित पक्ष सबै सचेत हुनु जरुरी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.