|

मुगु :  कर्णाली प्रदेशका १० जिल्ला मध्येको एक जिल्ला हो मुगु। मुगु जिल्लामा एक नगरपालिका तिन गाउँपालिका तथा ४५ वटा वडा छन्।  मुगु जिल्लामा विभिन्न जात जाति क्षेत्री,ठकुरी, दलित,लामा समुदायको बसोबास त छँदै छ। अर्को रोचक कुरा के छ भने मुगुको छायानाथ रारा नगरपालिका वडा ४ भामबाडा गाउँमा भाम जातिको पनि बसोबास रहेको छ। 

भाम जातले यतिबेला पहिचान खोजिरहेका छन। भाम जाति मुगु जिल्लाको भामबाडा गाउँमा मात्रै छन। विश्वका कुनै  पनि स्थानमा भाम जात नभएको बताइन्छ।  जो सुकैलाई म भाम हुँ भन्दा अनौठो लाग्ने गर्छ। भाम लाई अधिकांशले बम भनेर झुक्किने गरेका छन। भाम र बम जातमा फरक हो। 

भाम जाति सुदूरपश्चिमको खप्तडबाट आएका खड्का हुन मुगुमा बहादुरी गरेर काम गरी बसेकाले भाम जाति भएको र भामबाडा गाउँमा बसेका बुढापाकाको कथनबाट सुनेको कानुन व्यवसायी जितेन्द्रकुमार भामले सुनाए।

उनी भन्छन्, 'अहिले विश्वमा भाम जाति छैनन्। तर, भाम जाति भामवाडामा मात्रै छन्। यो जात कहाँबाट भयो कसरी मुगुको भामवाडा गाउँमा आए कहिले आए भन्ने जान्न बुझ्न खोज्दा आफूले सुदूरपश्चिमको खप्तडबाट मुगु आएका र मुगुमा राँगा,भैँसीका खुटा् काट्नेदेखि बोक्ने र अन्य बहादुरी काम गरेकाले भाम पद पाएका हुन् भन्नेसम्म जानकारी छ।' त्यही पदबाट भाम जाति रहेको आफूले सुनेको भामले बताए।

तर भाम कहिले र कति सालबाट खप्तड बाट मुगु आएका हुन्न भन्ने जानकारी नभएको  बताए। झट्ट हेर्दा शहर जस्तो देखिने भामवाडा गाउँ एक नमुना गाउँ पनि हो। मुगु जिल्लाकै सबैभन्दा ठूलो गाउँ फरक जातिको बसोबास रहेको गाउँ भएकाले भामवाडा गाउँ आफैँमा नमुना छ। यस गाउँमा ४ सय २२ घरधुरी छ भने २६ सय जनसंख्या छ। जसमा भामजातिको जनसंख्या भने लगभग १ हजारसम्म छ।

नेपाल सरकाले १० हजार भन्दा कम जनसंख्या भएमा लोपोन्मुख जाति भन्ने गरेको छ। तर भाम जाति लोपोन्मुख जातिभित्र परेको छैन।

१ हजार जनसंख्या मात्रै भएको भाम जात लोपउन्मुखको सुचिमा पर्नु पर्ने जानकारहरु बताउँछन। भाम जातको बारेमा अनुसन्धान हुनुपर्ने र राष्ट्रिय बहसका रुपमा नेपाल सरकाले हेरी लोपउन्मुख जातिमा सूचीकृत गर्नुपर्ने भामजातिहरुको माग रहेको छ।

भामवाडा गाउँमा ढुंगा, माटो र काठले खाँदिएर बनेका घर छन्। टाढाबाट अथवा हवाईजहाजबाट हेर्दा पक्की शहरजस्ता देखिन्छन्। गाउँ हेर्दा जति राम्रो देखिन्छ, यहाँका नागरिक त्यति नै दूरदर्शी पनि छन्। भामवाडा गाउँ अझपुराना गाउँ हेर्ने हो भन्ने अनोठौ थियो। अहिले  भामवाडा गाउँ दुई तल्ला सम्म पुरानै मोडलका घर भएपनि अन्तिम माथिल्लो‍ तल्लामा जस्तापाता छाउने गर्नाले गाउँको रूप केही फेरिएको छ।

भामवाडा गाउँमा  क्षेत्रि समुदायको बाहुल्यता रहेको छ। साविकको कार्कीवाडा गाविसको वडा- १, २, ३ र ४ हो। तर अहिले संघीय संरचनापछि एक वडामात्र भएको छ। यस गाउँमा ऐतिहासिक धरोहर पनि छन।

 जिल्लामा  ढुंगाले कुँदेर बनेका थुप्रै देवल छन्। ति धरोहर मध्ये सबै भन्दा ठुलो धरोहर देवल भामवाडा गाउँमा छ। ती ऐतिहासिक धरोहर कहिले निर्माण भएका हुन् भन्ने पनि अभिलेख छैन।

भामवाडा गाउँको दायाँ भागमा २० फिट अग्लो देवल छ त्यो मात्र पूरा देवल हो  अन्य छायानाथ रारा नगरपालिकाको कार्कीवाडा, चैन रारा रोवा ,खत्याड गाउँपालका, सोरु गाउँपालिकामा लगायतका ठाउँमा देवल छन सबै अपूरा छन्।

बुढापाकाको भनाई अनुसार  भीमसेन थापाका पालामा देवल निर्माण भएको जनविश्वास पाइन्छ। दैलेखबाट ढुंगा गधामा ल्याई एकै रातमा देवल बनाइएको बताइन्छ। भामवाडा गाउँमा रहेको देवल मात्र पूरा देवल भएको र अन्य ठाउँका देवल बनाउँदा बनाउँदै उज्यालो भएकाले अपूरा रहेको भन्ने कथन रहेको छ।

छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामका अनुसार भामवाडा गाउँमा रहेको देवलमा एकतर्फ तेलको कुवा, एकतर्फ दूधको कुवा र दुईवटा पानीका धारासहितको देवल निर्माण भएको जनविश्वास छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.