विप्लवको पार्टीमा भ्वाङ परिसकेको टिप्पणी

|

काभ्रे : नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’लाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्। 

शनिबार धुलिखेलमा भएको पार्टी प्रवेश कार्यक्रममा विप्लव नेतृत्वका भ्रातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष कान्छा लामाको नेतृत्वमा ७४ जनाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए। उक्त कार्यक्रममा पूर्वमन्त्री बाँस्कोटाले भने, 'विप्लव’ नेतृत्वको क्रान्तिमा भ्वाङ परिसक्यो, विप्लवज्यू तपाईं पनि नेकमा आउनुहोस्। 

बाँस्कोटाले नवप्रेवशीहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए।  

नेकपामा प्रवेश हुनेहरुमा ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष कान्छा तामाङ, पार्टी सचिवालय सदस्य एवं दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य तथा काभ्रे अध्यक्ष रमेश नेपाली, पार्टी जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल महिला क्रान्तिकारी संघका जिल्ला अध्यक्ष सम्झना परियारलगायत ७४ जना छन्। 

‘आजको आवश्यकता भनेको विकास क्रान्तिको निरन्तरता हो, ध्वांसत्माक क्रान्तिको होइन।’ उनले भने, ‘विप्लव नेतृत्वको क्रान्तिमा भ्वाङ परिसकेको छ, अब ध्वांसत्माक क्रान्तिबाट केही हुने अवस्था छैन। तपाईंको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेता कार्यकर्ता नेकपामा प्रवेश गरिरहेका छन्, विप्लव कमरेड अब तपाईं पनि नेकपामा समाहित हुनोस्,’ उनले त्यस क्रममा भनेका थिए।

कार्यक्रममा बाँस्कोटाले कुनै हालतमा पार्टी नफुट्ने दाबी पनि गरे। ‘पार्टीभित्र विचार, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुँदा अब नेकपा फुट्छ भन्ने होहल्ला मात्रै भएको हो,’ उनले भने, ‘जनताले झन्डै दुई तिहाईले जिताएर ठूलो बनाएको पार्टीमा बेलाबेला होहल्ला हुने स्वाभाविक हो।’

नेकपामा कोही पनि दास र मालिक नभई सबै समान रहेको पनि उनले दाबी गरे। नेपालमा हिंसात्मक क्रान्तिभन्दा पनि शान्तिपूर्ण संघर्ष र रुपान्तरण भने जरुर आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेकपा वाग्मती प्रदेश सदस्य रामहरि सुवेदी, वागमती प्रदेश सांसद चन्द्र लामा, जिल्ला कमिटी सदस्य अशोक ब्यान्जु, रामकृष्ण हुमागाई, कुमार थापा, राजन भुर्तेल, रिता ढकाल लगायत उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.