|

भद्रपुर : मापदण्डबमोजिम सडक निर्माण नभएको भन्दै स्थानीयले कालोझण्डा गाडेर विरोध प्रदर्शन गरेका छन्। 

मेची राजमार्गको चाराआली–केचना सडक खण्डअन्तरगत भद्रपुरस्थित कृषि विकास बैंक अगाडिदेखि ट्रेड युनियन चोकसम्मको निर्माणाधीन सडक मापदण्डबमोजिम नभएको  भन्दै  विरोध भएको हो। 

विरोध प्रदर्शनमा स्वतफुर्त सयौँ सङ्ख्यामा निस्किएका स्थानीयले मौन जुलुस निकालेर अविलम्ब सो सडक मापदण्डअनुसार बन्नुपर्ने एक बुँदे माग अघि सारेका छन्। 

जिल्लाकै सदरमुकाम जोड्ने करिब ३ सय मिटर सडक  निर्माणाधीन अवस्थामा छ। अहिले दुवैतर्फ नाला बनाउने काम धमाधम गरिँदैछ। तर, सो बाटो सडक ऐन २०३१ को मापदण्डअनुसार विस्तार नगरिएको भन्दै स्थानीयले यसअघि सम्बन्धित निकायमा लिखित ज्ञापनपत्र बुझाए पनि सुनवाइ नभएको भन्दै कालोझण्डा गाडेर विरोध प्रदर्शन गरिएको स्थानीय किशोर कोइरालाले जानकारी दिए। 

‘नाला निर्माण प्रक्रिया तुरुन्त बन्द गरी मापदण्डअनुसार सडक विस्तारका लागि ठाउँ खाली गर्नुपर्छ,’ कोइरालाले भने, ‘सो माग सम्बोधन नभए न्यायका लागि स्थानीय कडा संघर्षमा उत्रिन बाध्य हुने छन्।’

चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत ० देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरेका हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ। ती कम्पनीले अहिले पनि ठाउँ–ठाउँमा निर्माण कार्य गरिरहेका छन्। 

हुलाकीले सडक विस्तार गर्दा दायाँबायाँ १५/१५ मिटर र थप ६/६ मिटर साइट ब्याक अप हुनुपर्छ भनी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ। सडक निर्माणको काम सुरु गर्दा आफ्नै नियम हुलाकी पालना नगरी काम सुरु गरेकोमा स्थानीयले आपत्ति जनाएका छन्।

जनप्रतिनिधि र स्थानीयको घर पसल भत्किने भएकोले खुम्चाएर सडक निर्माण गर्न खोजिएको प्रस्ट देखिन्छ। सडक बन्ने भएपछि घरेलु तथा साना उद्योग कार्यालय, पूर्वाधार विकास कार्यालय, विद्युत् प्राधिकरण, कृषि विकास बैंकले आफ्नो जमिन खाली गराइसकेको छ। 

तर, जिल्ला समन्वय समिति झापा, जिल्ला सहकारी संघको सटर पसल र अन्य व्यक्तिले भने ठाउँ खाली गरेका छैनन्। अहिले निर्माण भइरहेको सडक १० मिटर बन्न लागेको छ।

ट्रेड युनियन चोकदेखि एसपी मोड सम्मको सडक नै १४ मिटरको बनेको छ। काम सुरु गराउनुअघि नै भद्रपुर नगरपालिकालाई पटक पटक पत्राचार गरी ठाउँ खाली गराइदिन आग्रह गरिसकिएको हुलाकी सब इन्जिनियर सीताराम मण्डलले जानकारी दिए।

नगरपालिकाले ठाउँ खाली नगराएपछि टेन्डरमा लागेको प्रक्रियाअनुसार सडक विस्तारको काम सुरु गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.