बहुमतले पेश गरेको प्रस्ताव स्वीकार्न आग्रह

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अहंकर र घमण्ड अझै नघटेको बताएका छन्। 

ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन शनिबार बसेको सचिवालय बैठकमा पेश गरेपछि अध्यक्ष प्रचण्डले ओलीले चार पटकसम्म पार्टी फुटाउन खोज्दा पनि आफूहरुले जोगाएको बताउँदै तर अझै उनको घमण्ड र अहंकर कम नभएको आरोप लगाएका हुन्। 

बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रस्ताव पेश गरेपछि बोल्दै प्रचण्डले त्यसलाई एकताबिरोधी कदम भनेका छन्। ‘चारपटक तपाईंले पार्टी फुटाउन खोज्नु भएको छ', बैठकमा सहभागी एकजना सचिवालय सदस्यले भनेका छन्, 'तपाईंले पार्टी फोर्न खोजे पनि हामीले एकताको रक्षा गर्दै आएका छौं। पार्टी विभाजित हुन नदिन अहिले पनि हामी प्रतिवद्ध छौं।' 

प्रधानमन्त्री ओली बैठकमा करिब एक घण्टासम्म बोलेका थिए। खामबन्दी प्रतिवेदन उपलब्ध गराएपछि ओलीले आफ्ना कुरा बैठकमा राखेका थिए। प्रचण्डले आजको बैठकमा ओलीले मदन भण्डारी फाउन्डेसनमार्फत आफ्नो गुटको गतिविधि वडासम्म लैजान निर्देशन दिएको पनि आरोप लगाएका छन्। 

त्यसैगरी पार्टी विभाजनका लागि संगठनात्मक आधार बनाउन पनि तलसम्मै ओलीले निर्देशन दिएको आरोप प्रचण्डले बैठकमा लगाए। प्रचण्डले त्यसँगै पार्टी विभाजनको खुकुलो प्रावधानसहितको अध्यादेश ल्याएको, आफ्ना गुटका भेला गरेर आफूलाई एक्ल्याउने अभियान सुरु गरेको उनले बताएका छन्। 

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीले आफ्ना कमजोरी स्वीकार्न तयार हुनुपर्ने पनि मत राखेका छन्। 'प्रधानमन्त्रीमा अझै कमी कमजोरी र गल्ती स्वीकारेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने नियत देखिएन, उनले भनेका छन्, 'उहाँ (ओली) को जवाफमा अफवाह, घमण्ड र अहङ्कार मात्रै देखिएको छ।'

आफूले पार्टी बैठकमा राजनीतिक दस्तावेज पेश गरेको बताउँदै दाहालले त्यसलाई ओलीले आरोप या अभियोगपत्र भनेकोमा आपत्ति जनाएका थिए। 'मैले पार्टी बैठकमा पेश गरेको विषयवस्तुलाई आरोपपत्र भन्नुभएको छ, तपाईंले यहीँ अहङ्कार देखाउनुभयो। तपाईंको दम्भ, घमण्ड र अहङ्कारले नै समस्या बढेको हो। अझै यसले सम्या बढाउँछ। तपाईं प्रस्तुत भइरहेको यो तरिका राम्रो हुँदै होइन। बहुमत सचिवालय सदस्यले पेश गरेको प्रस्ताव तपाईंले स्वीकार्नु नै समाधान हो।'

प्रचण्डले पार्टी सचिवालयमा प्रस्तुत गरेको प्रस्ताव पत्र छलफलकै लागि आफूले तल्लो कमिटीसम्म पेश गरेको पनि बताएका छन्। उनले ओलीको आरोपबारे बोल्दै तल्ला कमिटीसम्म छलफलकै लागि उक्त बुकलेट पठाएको बताएका हुन्। 

‘बैठक र पार्टीमा छलफल र बहस गर्न त्यो ल्याएको हुँ। सहमति जनाउनु भनेर पत्र लेख्दैमा आरोपसहितको प्रयुत्तर दिएपछि मैले पनि प्रस्ताव पुगेको हो', उनले अगाडि भने, 'अघिल्लो सचिवालय बैठकमा तपाईंले बोलेको कुरा रेकर्ड गरेर बाहिर दिनुभएछ। तपाईंले दिएको प्रतित्युत्तर पनि बैठकअघि नै सञ्‍चारमाध्यममा आए।  तपाईंले बोलेका कुरा रेकर्ड गरेर जस्ताको तस्तै सञ्चारमाध्यमलाई दिएपछि अब के गर्न बाँकी छ र?

प्रचण्डले सचिवालयमा बोल्दै आफूविरुद्ध ओलीले पशुपति प्लाजामा बसेर योजना बनाएको आरोप पनि लगाएका छन्। ‘केन्द्रीय कमिटी बैठकबाट उत्साहित नेता कार्यकर्तालाई अल्मल्याउन र मविरुद्ध पशुपति प्लाजामा बसेर बनाएको योजना अनुसार पार्टी विभाजनको रेखा कोर्नुभयो', दाहालले भनेका छन्, 'निर्वाचन आयोगमा एमाले दर्ता गराउनुभयो। अध्यादेशसँगै सांसद नै अपरहण गराउनुभयो। यी पर्याप्त उदाहरण हुन् पार्टी विभाजनका। तपाईंका क्रियाकलापले पार्टी पटक-पटक फुटाउनु भयो तर हामीले रोक्यौँ।'

भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयलाई पनि उल्टाएर पार्टीमा अर्को पटक फुट ल्याएको भन्दै प्रचण्ड ओलीमाथि खन्निए। ‘पार्टीलाई विधि, पद्दतिमा लान जुन कुरा नगरौं भनियो, त्यही तपाईंले गर्नुभयो। कुनै पनि नेताको नाममा स्थापित प्रतिष्ठानबाट गतिबिधि सञ्चालन नगर्ने निर्णय विपरित झन् गतिबिधिलाई तीब्रता दिने काम तपाईंबाट भयो’, दाहालले भने ‘आफ्नो अहंकार र व्यक्तिवादी सोच अहिले पनि बोकिरहनु भएको छ।'

रुपन्तारणसहित पार्टी एकता जोगाएर अझै बलियो बनाउनुपर्ने आग्रहलाई ओलीले लत्याएको दाहालले आरोप लगाए। ‘तपाईंले आफ्नो अहंकारी व्यावहार प्रस्तुत गर्दै मनलाग्दी गरेर पार्टी विभाजनतर्फ लानुभयो। तर हामीले कहिलेसम्म जोगाउने?', दाहालले भने, 'तर तपाईं अझै गल्ती स्वीकार्नु हुन्न। यो भन्दा बिडम्बना के होलान्? तपाईंका गतिविधिले पार्टीमा फुट चाहने व्यक्ति को हो भन्‍ने चिन्‍न अब गाह्रो छ र?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.