|

काठमाडौं : काठमाडौं महानगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाबीच स्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ। आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदान–प्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना भएको हो।

गौतम बुद्धको अस्थिधातु रहेको प्राचीन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्वको काठमाडौं महानगरपालिकाबीच दुई नगरका प्रमुखले शनिबार साँझ सहमति पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरेका हुन्।

महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्रकुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरी दुई नगरबीच भगिनी सम्बन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेसँगै काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ। सम्झौताअनुसार निर्माण भएको ऐतिहासिक तथा पर्यटकीय कोलिय शान्ति उद्यानको प्रवेशद्वारमा र अन्यत्र उपयुक्त स्थानमा ‘काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत निर्मित उद्यान’ उल्लेख गर्नुपर्नेछ ।

हस्ताक्षरपछि सम्वोधन गर्दै  प्रमुख शाक्यले बौद्ध दर्शनका दृष्टिले काठमाडौं र रामग्रामबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराए। उनले काठमाडौं दक्षिण र उत्तर कोलियोग्राम रहेको भन्दै यहाँको कोलियग्रामका बीचमा विगतमा केही सम्बन्ध रहेको बताए। ‘सम्बन्धको हामी अध्ययन गर्ने चरणमा छौं, दुई नगरबीच अहिले होइन वर्षौ पुरानो सम्बन्ध हुन सक्छ,’ शाक्यले भने, ‘असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले यो भगिनी सम्बन्ध स्थापना गरेका हौँ।’

शाक्यले दुई नगरका साङ्गठानिक स्वरुप, संस्थागत संरचना र शासकीय भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसको अनुभव, कार्यशैली, असल अभ्यास र महत्त्वपूर्ण उपलब्धिहरू आदान प्रदान गर्ने पनि प्रतिवद्धता व्यक्त गरे।

‘मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्नेछौं,’ शाक्यले भने, ‘प्रकृति र पर्यावरणको समुचित सन्तुलनबिना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामा क्रियाकलाप सञ्चालन गर्न साझेदारी गर्नेछौं।’

महानगरपालिकाले यसअघि पनि अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विश्वका विभिन्न १७ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ भने नेपालको जुम्लामा रहेको चन्दननाथ नगरपालिकासँग पनि भगिनी सम्बन्ध स्थापना गरिसकेको छ।

रामग्रामका प्रमुख गुप्ताले विदेशी सहरसँगभन्दा आफ्नै देशका सरहसँगका सम्भावना र चुनौती दुवै मिल्दा हुने भएकोले देशभित्रका नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने धारणा राखे। महानगरपालिका सँग भगिनी सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ‘दुई नगरबीच धार्मिक र सांस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गरिन्। रामग्राम नगरकी उपप्रमुख रम्भा कुँवरले, दुई नगर बीचको आत्मीय सम्बन्धबाट नगरको समृद्धिमा हौसला मिलेको प्रतिक्रिया दिइन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.