|

काठमाडाैं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ। 

प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो। आज पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरणअनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ।

यस्तै पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले बताए। 

यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरु र सहभागि राष्ट्रिय संघहरुलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उनले बताए। काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण खर्च विवरण ढिला आएको सिलवालले बताए।

गत वर्षबाट महामारीका रुपमा फैलिएको कोभिड—१९ र सागमा सहभागी राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरण हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रहरुको ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उनले बताए। 

सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंक मौज्दात छ। १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ भने फ्रिज भएको उनले बताए।

नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो। यस्तै टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९९ हजार १५० रुपैयाँ र सहभागी राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार ५९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए।

साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८०४ रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ। यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६८३ रुपैयाँ खर्च भएको छ।

खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८८१ रुपैयाँ, राष्ट्रिय टिम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ। यस्तै सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख, ५६ हजार ४७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २२४ र जनकपुरमा ८० लाख ३७ हजार २१२ रुपैयाँ खर्च भएको छ।

१४ औं साग आयोजना गर्ने पालो पाकिस्तानको भए पनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन। पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.