|

सिमरा : खोलामा किर्ते छाप र रसिद प्रयोग गर्ने ठेकदार कम्पनीलाई डेढ सातापछि कारबाहीका लागि जितपुसिमरा उपमहानगरले प्रहरीलाई  पत्र पठाएको छ।

उत्खनन अनुमति लिनुपूर्व विनोद निमार्ण सेवाले बाराको दुधौरा, बालगंगा र पसाहा खोलामा किर्ते छाप र रसिद प्रयोग गरेर टिपर, टयाक्टर हुलेर खोला खनेको भेटेपछि स्थानीय प्रशासनको दबाबमा उपमहानगरले कारबाहीका लागि पत्र पठाएको हो।

‘सिडियो साबले प्रमुख प्रशासकीय अधिकृतलाई पटक पटक फोन गरेर कारबाहीका लागि पत्र पठाउनुस् भनेर दबाब दिएपछि उपमहानगरपालिकाले बाध्य भएर शुक्रबार पत्र पठाएको छ,’ बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनीले भने, ‘उपमहानगरको पत्र पाएलगत्तै ठेकेदारलाई सरकारी छाप किर्तेमा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरालाई पत्र पठाईसकेको छु।’

खोलामा ठेकेदारले किर्ते छाप प्रयोग गरेर रसिद बाँडेको जानकारी पाउँदा पाउँदै कारबाहीको लागि जितपुरसिमराले कारबाहीको लागि उजुरी दिन आलटाल गर्दै आएको थियो।

‘सरकारी छाप किर्ते हाम्रो क्षेत्राधिकारभित्र पर्ने भएकाले हामीले नगरपालिकाको छाप र ठेकेदारले प्रयोग गरेको दुवै छाप अनुसन्धान गर्दा नगरपालिकाको छाप किर्ते भएको भेट्यौ’, प्रहरी उपरीक्षक पंगेनीले भने। मुलुकी अपराधसंहिता २०७४ संशोधित २०७६ ले सरकारी छाप किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना तोकेको छ। 

उपमहानगरले चालु आर्थिक वर्षका लागि बाराको दुधौरा, बालगंगा र पसाहा खोला उत्खननको ठेक्का विनोद साह निर्माण सेवालाई दिने सम्झौता गरेको छ। ९४ लाख घनफिट गिटी, बालुवा, ढुंगा उत्खननका लागि भ्याटबाहेक १३ करोड ७६ लाखमा नगरपालिकाले कलैया उपमहानगरपालिका–१६ का बहालवाला वडाध्यक्ष शेषनाथ प्रसाद साहको ठेक्का कम्पनी विनोद साह निमार्ण सेवासँग उत्खनन सम्झौता गरेको हो।

नगरप्रमुख, कर्मचारी र ठेकदारबीच आपसी मिलेमतोमा उपमहानगरको आफ्नै सार्वजनिक खरिद नियमावली २०७६ विपरीत १ करोड राजस्व नोक्सान हुनेगरी पहिलो ठेक्का कम्पनीलाई छाड्न लगाएर दोस्रो कम्पनीसँग मंसिर ४ गते सम्झौता गरेको थियो।

नगरपालिका र ठेकेदारबीच भएको सम्झौताको बुँदा नं ५ मा शुल्क उठाउने रसिदहरु ठेक्काको शीर्षकअनुसार छुट्टाछुट्टै ३ प्रति नगरपालिकाले तोकेको दरअनुसार ठेकदार पक्षबाट छपाई नगरपालिकाले प्रमाणित गरी  छाप लगाएर अभिलेख राखेर मात्र कर दस्तुर उठाउन प्रयोगमा ल्याउनुपर्ने र मासिक रुपमा १ प्रति नगरपालिकालाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ।

तर विनोद निर्माण सेवाले नगरपालिकाको उत्खनन अनुमति लिनुपूर्व नै खोलामा जथाभावी रुपमा रसिद बाँडेर किर्ते छाप प्रयोग गरेको भेटिएको हो। यता ठेकेदार कम्पनीका सञ्चालक तथा कलैया उपमहानगर–१६ का वडाध्यक्ष साहले भने ठेक्का नपाएका अन्य कम्पनीले आफूलाई फसाउन खोजेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.