|

बैतडी : जिल्ला अस्पताल बैतडीमा सञ्चालनमा आउने भनेको आइसियु बेड र भेन्टिलेटर अझै जडान हुन सकेको छैन।  केही दिनअघि आइसियु बेड यहाँ ल्याइएको थियो।

भेन्टिलेटर भने अझै आइनपुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। 'भेन्टिलेटर केही दिनमै पुग्ने र त्यसपछि जडानको काम हुनेछ,' उनले भने, ‘आइसियु बेड र भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति पनि नभएकोले केही ढिलाइ भएको हो।' 

भेन्टलेटर सञ्चालन भए भर्ना भएका बिरामीले २४ सै घण्टा अक्सिजन पाउनेछन्। 

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा ल्याइएको र ल्याइने यी उपकरण सञ्चालनमा नआउँदा कोरोनाका जटिल बिरामीलाई समस्या हुने गरेको छ। आइसियु तथा भेन्टिलेटर बेड सञ्चालनमा नआउँदा बैतडीमै उपचार सम्भव भएका बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता छ। बैतडीमा हालसम्म ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भइसकेको छ।

५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि 

बैतडीमा हालसम्म ५ सय ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जसमध्ये  हाल ५५ जना कोरोनाका सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना सक्रिय रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौडी नगरपालिकामा ४, पाटन नगरपालिकामा ३, पञ्चेश्वर र सुर्नया गाउँपालिकाका १/१ जना सक्रिय संक्रमित छन्।

सक्रिय संक्रमितमध्ये दशरथचन्द नगरपालिकाका ३ जना मात्रै  जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन् भने अन्य स्थानीय तहका सक्रिय संक्रमित भने होम आइसोलेसनमा रहेका छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा भने हाल एक जना पनि सक्रिय संक्रमित नरहेको बताइएको छ। 

जिल्लामा  ५ सय ५१ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी  दशरथचन्द नगरपालिकाका १ सय १६ जनामा संक्रमण देखिएको छ। यस्तै पाटनका ८५, पञ्चेश्वरका ६३, सिगासका ५५, शिवनाथका ५१, दोगडाकेदारका ४९ ,मैलौलीका ४७, सुर्नयाका ३९, पुर्चौडीका २४ र डिलाशैनीका २२  जनामा कोरोना पुष्टि भएको छ।

बैतडीमा गत जेठ ९ गते पहिलोपटक कोरोना संक्रमण देखिएकोमा हालसम्म १ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। ४ सय ९५ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालयले जनाएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.