|

सर्लाही : स्वास्थ्य मन्त्रालयले आज (सोमबार) देशभरका ३ सय ९६ स्थानीय तहहरूमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको दुई वर्षभित्र निर्माण सम्पन्न हुनेगरी शिलान्यास गर्दै छ। जसअनुसार सर्लाहीमा पनि एकैसाथ ६ स्थानमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरिएको छ।

बागमती, हरिवन, बलरा र बरहथवा नगरपालिका तथा चन्द्रनगर र पर्सा गाउँपालिकामा अस्पताल शिलान्यास गरिएको हो। सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित सरकारले अस्पताल बनाउँदै छ। 

चक्रघट्टामा भने विवाद

अस्पताल निर्माणका लागि सर्लाहीमा ७ वटा पालिका छनोट भए पनि चक्रघट्टा गाउँपालिकामा भने स्थान विवाद भएको छ। जसका कारण अस्पताल शिलान्यास हुन सकेन। सरकारले खोरिया स्वास्थ्य चौकीलाई छनोट गरे पनि त्यहाँ विवाद भएपछि आज शिलान्यास गर्न नसकिएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले जानकारी दिए।

अरु ६ ठाउँमा भने सबै सरोकारवालाको उपस्थितिमा शिलान्यास गरिएको छ। बागमती नगरपालिकास्थित कर्मैया बर्थिङ सेन्टर परिसरमा संविधानसभा सदस्य हरि उप्रेती, हरिवन नगरपालिका सासापुर स्वास्थ्य चौकी परिसरमा मेयर गणेश प्रसाद प्रसाई, बरहथवा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा मेयर देवानन्द महतो, चन्द्रनगर गाउँपालिकाको चन्द्रनगर स्वास्थ्य चौकी परिसरमा प्रदेश सांसद उपेन्द्र महतो, पर्सा गाउँपालिकाको नारायणपुर स्वास्थ्य चौकी परिसरमा पूर्व मन्त्री एवं संघीय सांसद महेन्द्र महतो र बलरा नगरपालिकाको प्राथमिक स्वस्थ्य केन्द्रको परिसरमा मेयर अभयकुमार सिंहले अस्पताल शिलान्यास गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.