कोलोम्बो : श्रीलङ्काको राजधानी कोलोम्बोस्थित एक कारागारमा भएको दङ्गामा आठ व्यक्तिको मृत्यु भएको छ। यस दङ्गामा मारिएका सबै व्यक्ति कैदी हुन्।
दङ्गामा अन्य ४५ जना घाइते भएका छन्। घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन्। कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए।
राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन। बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको झडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ।
श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कारागारमा रहेका बन्दीहरुले शुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताए।
दङ्गामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको उनले बताए। कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ। श्रीलङ्कामा कोरोना शुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।