|
फाइल फोटो

काठमाडौं : शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले खोकना र बुङगमतीको सम्पदामा कुनै समस्या नपर्नेगरी फाष्ट ट्रयाक निर्माण हुने बताएका छन्। सोमबार प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी  राधिका शाक्य र शहरी मन्त्री श्रेष्ठले खोकनाको रुद्रायणी मन्दिर अवलोकन गर्दै स्थानीयलाई यस्तो बताएका हुन्। 

‘रुद्रायणी मन्दिर र खोकनाको अवस्थाबारे प्रधानमन्त्री ज्युले गम्भीर चासो राखेपछि उहाको धर्मपत्नी र म यस क्षेत्र अवलोकन गर्न आएका हौ,’उनले अवलोकन क्रममा भने,‘बुङमतीको सम्पदामा कुनै समस्या नपर्नेगरी फाष्ट ट्रयाक निर्माण हुन्छ। स्थानीयले चिन्ता नलिँदा हुन्छ। सयौँ वर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबै सहयोग गर्छ।’

उनले भूकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुनर्निर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने पनि बताए। मन्त्री श्रेष्ठले भने,‘रुद्रायणी मन्दिर क्षतिग्रस्त भएको विषय अत्यन्तै चिन्ताजनक छ। सरकारले यहाको सम्पदा पुनर्निर्माण गर्न सरोकारवाला निकायलाई तत्काल निर्देशन दिनेछौँ।’

मन्दिरको अवलोकनपश्चात् प्रम पत्नी शाक्यले रुद्रायणी मन्दिर पुनर्निर्माण गर्ने विषयमा  सरकारले तत्काल कदम चाल्नुपर्ने बताइन। ‘मन्दिरको बाहिरको  अवस्था हेर्दा राम्रो देखिएको छ तर, भूकम्पले गर्दा भित्रभित्रै भत्किन थालेको देखियो ’उनले भनिन्। 

पुरातत्व विभागका महानिर्देशक गौतमले भूकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनर्निनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सातौँ शताब्दीदेखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखे। सरकारले फाष्ट ट्रयाक निर्माण गर्दा ऐतिहासिक खोकनाको सम्पदा मासिने भन्दै खोकनाबासी आन्दोलनमा उत्रिहरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.